काठमाडौं । सेन्ट लरेन्स कलेजका क्याम्पस प्रमुख पुरुषोत्तम महर्जनले सूचना प्रविधिको क्षेत्रमा बढ्दो प्रतिस्पर्धालाई ध्यानमा राख्दै विद्यार्थीलाई पाठ्यक्रममा आधारित सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक सीपसमेत प्रदान गरिने बताएका छन्।
त्यसका लागि कलेजले विभिन्न आईटी कम्पनीसँग सहकार्य तथा सम्झौता गरेको उनले जानकारी दिए।
सेन्ट लरेन्स कलेजमा बीएस्सी सीएसआईटी तथा बीसीए अध्ययनका लागि भर्ना भएका नयाँ विद्यार्थीलाई लक्षित गरी शनिबार आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै महर्जनले विश्वविद्यालयको पाठ्यक्रम पूरा गराउनेसँगै विद्यार्थीको सीप विकासलाई पनि कलेजले प्राथमिकता दिएको बताए।
‘हामी त्रिविले बनाएको गाइडलाइनअनुसार पढाउने मात्र होइन, विद्यार्थीलाई स्किल पनि दिन्छौँ। त्यसका लागि हामीले धेरै आईटी कम्पनीसँग सम्झौता गरेका छौँ,’ उनले भने।
महर्जनका अनुसार अहिलेको आईटी क्षेत्रमा शैक्षिक प्रमाणपत्र मात्र पर्याप्त हुँदैन। विद्यार्थीले अध्ययनकै क्रममा व्यवहारिक ज्ञान, समस्या समाधान गर्ने क्षमता, नयाँ प्रविधिको प्रयोग तथा टिममा रहेर काम गर्ने सीप विकास गर्न आवश्यक रहेको उनले बताए।
कलेजमा विद्यार्थीको पहिलो दिनदेखि नै सीप विकासलाई प्राथमिकता दिइने जानकारी दिँदै उनले कक्षाकोठामा पढाइ हुने विषयलाई व्यवहारिक अभ्याससँग जोडिएको बताए।
प्रविधिको विकाससँगै रोजगारीको स्वरूपसमेत परिवर्तन भइरहेको भन्दै महर्जनले विद्यार्थीले आफूलाई समयअनुकूल रूपान्तरण गर्नुपर्नेमा जोड दिए। विशेषगरी कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकासले सूचना प्रविधिको क्षेत्रमा नयाँ अवसरसँगै चुनौती पनि थपिरहेको उनले बताए।
‘अब समयअनुसार आफूलाई रूपान्तरण गर्दै नगए पछि पर्ने अवस्था छ,’ उनले भने।
कम्प्युटर साइन्स अध्ययन गर्ने विद्यार्थीले आफ्नो विषयमा मात्र पोख्त भएर नपुग्ने भन्दै उनले विभिन्न विषय र क्षेत्रको ज्ञान आवश्यक पर्ने बताए। फरक विषय अध्ययन गरेका साथीसँग टिम बनाएर काम गर्ने क्षमता पनि विद्यार्थीले विकास गर्नुपर्ने उनको भनाइ थियो।
‘अब कम्प्युटर साइन्स पढ्ने विद्यार्थीले सबै विषयमा पोख्त हुन आवश्यक छ। फरक विषय पढेका साथीसँग टिम बनाएर काम गर्न आवश्यक छ,’ उनले भने।
आईटी क्षेत्रमा व्यक्तिगत रूपमा काम गर्ने तथा विश्व बजारसँग जोडिने अवसरसमेत बढिरहेको महर्जनले बताए। नेपालमै बसेर विदेशी कम्पनीका लागि काम गर्ने, फ्रिलान्सिङ गर्ने तथा सूचना प्रविधिसम्बन्धी सेवा प्रदान गर्ने नेपाली युवाको संख्या बढिरहेको उनले जानकारी दिए।
नेपालमा आईटी क्षेत्रबाट समेत रेमिट्यान्स भित्रिन थालेको उल्लेख गर्दै उनले नेपाली युवाले प्रविधिको माध्यमबाट अन्तर्राष्ट्रिय बजारमा आफ्नो क्षमता प्रदर्शन गरिरहेको बताए।
‘नेपालमा अहिले आईटी सेक्टरबाट पनि रेमिट्यान्स आइरहेको छ। नेपालमा रहेका आईटी अध्ययन गरेकाहरूले फ्रिलान्सिङ गरेर रेमिट्यान्स भित्राइरहेका छन्,’ उनले भने।
आईटी क्षेत्रको सम्भावनालाई ध्यानमा राखेर विद्यार्थीलाई अध्ययनसँगै व्यवहारिक अनुभव दिलाउन कलेजले विभिन्न कम्पनीसँग सहकार्य गरेको महर्जनले जानकारी दिए। कम्पनीसँगको सहकार्यले विद्यार्थीलाई वास्तविक कार्यक्षेत्रको आवश्यकता बुझ्न, आफ्नो रुचि र क्षमता पहिचान गर्न तथा अध्ययनपछि रोजगारी वा उद्यमशीलताको बाटो रोज्न सहयोग पुग्ने उनले बताए।
कलेजको पछिल्लो सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीले अध्ययनसँगै पार्टटाइम कामसमेत गर्न सक्ने जानकारी दिँदै उनले कलेजका नियमित तथा सीपमा आधारित कक्षा प्रभावित हुने गरी काम नगर्न आग्रह गरे।
‘कलेजको पछिल्लो सेमेस्टरमा पढ्ने क्रममा तपाईं पार्टटाइम काम गर्न सक्नुहुन्छ। तर कलेजको क्लास र स्किल बेस क्लास छुटाउनु भएन,’ उनले भने।
विद्यार्थीले अध्ययनका क्रममा विकास गरेका सफ्टवेयर तथा प्रविधिसम्बन्धी परियोजनालाई व्यावसायिक रूपमा अघि बढाउन चाहेमा कलेजले सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
‘तपाईंले राम्रो सफ्टवेयर बनाउनुहुन्छ भने त्यसलाई अघि बढाउन कलेजले सहयोग गर्छ,’ उनले भने।
पछिल्लो समय विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीमध्ये कम्प्युटर साइन्स रोज्नेको संख्या बढिरहेको महर्जनले बताए। डिजिटल प्रविधिको विस्तार, एआईको विकास र विश्व बजारमा आईटी जनशक्तिको माग बढ्दै गएकाले कम्प्युटर साइन्स तथा सूचना प्रविधि अध्ययन गर्ने विद्यार्थीका लागि भविष्यमा धेरै अवसर रहेको उनले जानकारी दिए।
महर्जनले सेन्ट लरेन्समा बिताउने चार वर्षलाई केवल डिग्री हासिल गर्ने अवधिका रूपमा नलिई सीप, ज्ञान, सम्बन्ध र भविष्यको करिअर निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्न विद्यार्थीलाई आग्रह गरे।
‘सेन्ट लरेन्समा तपाईंहरूको अबको चार वर्ष उपलब्धिमूलक हुने छ,’ उनले भने।
कलेजको उद्देश्य विद्यार्थीलाई परीक्षामा राम्रो अंक ल्याउने मात्र नभई आईटी उद्योगको आवश्यकता पूरा गर्न सक्ने दक्ष, सिर्जनशील र व्यावहारिक जनशक्ति तयार गर्नु रहेको उनले बताए। यसका लागि शैक्षिक अध्ययनसँगै आईटी कम्पनी तथा उद्योगसँगको सहकार्य, सीप विकास, परियोजना कार्य र व्यावहारिक अनुभवलाई निरन्तरता दिने उनले जानकारी दिए।






