इन्द्रजात्राको साइतः आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काटिने

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष मनाइने इन्द्रजात्राका विभिन्न साइत सार्वजनिक गरेको छ। इन्द्रजात्राको प्रक्रिया भाद्रपद शुक्ल द्वितीयादेखि सुरु हुने समितिले जनाएको छ।

समितिका अध्यक्ष एवं सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार इन्द्रध्वजाको लिङ्गोका लागि रुख काट्न वनयात्रा जाने साइत भदौ २८ गते आइतबार बिहान ९ः५३ बजे तोकिएको छ। भक्तपुरको चित्तपोल वनमा रुख काट्ने साइत भने सोही दिन राति ८ः४७ बजे रहेको छ।

चित्तपोल वनबाट काटिएको रुखलाई इन्द्रध्वजाको लिङ्गोका रूपमा नगर प्रवेश गराउने साइत असोज ३ गते शनिबार बिहान ८ः०५ बजे रहेको समितिले जनाएको छ। यस्तै, इन्द्रध्वजोत्थानको साइत असोज ७ गते बुधबार बिहान ७ः४७ बजे तोकिएको छ।

इन्द्रजात्राको मुख्य दिन असोज ९ गते शुक्रबार तल्लो टोलमा रथयात्रा गराइनेछ। सोही दिन राष्ट्रपति लगायत अतिविशिष्ट व्यक्तित्वले हनुमानढोकास्थित गद्दी बैठक पुगेर कुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा छ। असोज १० गते शनिबार माथिल्लो टोलमा रथयात्रा गराइनेछ।

असोज १३ गते मंगलबार महिलाले मात्र रथ तानेर नानीचा यात्रा गर्नेछन्। सोही दिन राति ९ः२५ बजे इन्द्रध्वजाको लिङ्गो ढाल्ने साइत रहेको समितिले जनाएको छ।

लिङ्गो ढालेपछि सोही राति राष्ट्राध्यक्षले कुमारी, गणेश र भैरवको दर्शन गरी प्रसाद ग्रहण गरेपछि १३ दिनसम्म चल्ने इन्द्रजात्रा औपचारिक रूपमा समापन हुनेछ।