काठमाडौं — भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचान गर्न संकलन गरिएका नमुनाको डीएनए परीक्षण तीव्र गतिमा भइरहेको छ। नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला र खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को प्रयोगशालामा नमुना परीक्षण भइरहेको हो।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार शव पहिचानका लागि संकलित नमुनामा कुनै त्रुटि नहोस् भनेर विशेषज्ञ टोलीले सूक्ष्म रूपमा परीक्षण गरिरहेको छ। नेपाली टोलीलाई सहयोग गर्न भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञसमेत नेपाल आएका छन्। प्रहरीको विधिविज्ञान प्रयोगशालामा भारतीय र दक्षिण कोरियाली तथा नास्टको प्रयोगशालामा भारतीय र चिनियाँ विज्ञले प्राविधिक सहयोग गरिरहेका छन्।
हाल डीएनए परीक्षणका लागि चारवटा मेसिन सञ्चालनमा छन्। आवश्यक तयारी पूरा भएपछि एउटा नमुनाको परीक्षणबाट करिब ९० मिनेटमा नतिजा प्राप्त हुन्छ। त्यसपछि अर्को नमुना परीक्षण गर्न मेसिनलाई पूर्ण रूपमा निर्मलीकरण गर्नुपर्ने हुन्छ।
विशेषज्ञ चिकित्सकका अनुसार हड्डी र दाँतबाट डीएनए निकालेर परीक्षण गर्दा चार दिनसम्म लाग्न सक्छ। हड्डी तथा दाँतलाई पहिले धुलो बनाएर विशेष रसायनमा राखिन्छ। त्यसपछि करिब ७२ घण्टापछि मात्रै थप परीक्षण प्रक्रियामा लगिन्छ।
शनिबार अपराह्नसम्म फेला परेका शवको पहिचानका लागि आवश्यक प्रक्रिया पूरा गरी १ हजार २३० शव माटोमुनि व्यवस्थापन गरिएको छ। शव पहिचानका क्रममा मृतकबाट १ हजार २८६ र आफन्तबाट १ हजार ७७९ गरी कुल ३ हजार ६५ वटा डीएनए नमुना संकलन गरिएको छ।
नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाको वार्षिक डीएनए परीक्षण क्षमता करिब ४०० नमुना मात्रै हो। तर अहिले दैनिक २५ देखि ३० वटासम्म नमुना परीक्षण भइरहेको प्रवक्ता काफ्लेले बताए। प्रहरीले भदौ १३ गतेदेखि डीएनए नमुना संकलन सुरु गरेको हो भने हालसम्म ४०० भन्दा बढी नमुनाको परीक्षण भइसकेको छ।
विज्ञहरूका अनुसार हड्डी र दाँतबाट निकालिएका डीएनए नमुनामध्ये करिब ३० प्रतिशतसम्म पुनः परीक्षण गर्नुपर्ने अवस्था आउन सक्छ। त्यसैले परीक्षण प्रक्रिया अपेक्षाकृत लामो हुने गरेको छ।
हेटौँडामा थप प्रयोगशाला सञ्चालनको तयारी
डीएनए परीक्षणलाई थप तीव्र बनाउन बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा समेत प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। प्रवक्ता काफ्लेका अनुसार आवश्यक मेसिन नेपाल ल्याइसकिएको छ र अहिले प्रयोगशाला ‘सेटअप’ भइरहेको छ।
उनका अनुसार एक साताभित्र हेटौँडामा प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी छ। यसले नमुना परीक्षणको चाप घटाउनुका साथै शव पहिचान प्रक्रिया छिटो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भोटेकोशी विपद्पछिको खोज तथा उद्धार, शव पहिचान र व्यवस्थापनलाई प्राथमिकतामा राखेर प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आवश्यक पहल गरिरहेका छन्। डीएनए परीक्षणका लागि प्रहरीका सम्बन्धित सबै जनशक्ति परिचालन गरिएको छ भने उनीहरूलाई २४ सै घण्टा ड्युटीमा खटाइएको छ।
डीएनए म्याचिङका लागि ‘कोडिस’ सफ्टवेयर
फेला परेका शव र हराइरहेका व्यक्तिका नजिकका आफन्तबाट संकलित नमुनाबीच डीएनए मिलान गर्न ‘कम्बाइन डीएनए इन्डेक्स सिस्टम’ (CODIS) सफ्टवेयर प्रयोग गरिएको छ।
प्रवक्ता काफ्लेका अनुसार मृतक र आफन्तको डीएनए प्रोफाइल सफ्टवेयरमा प्रविष्ट गरेपछि प्रणालीले उनीहरूबीचको मिलान देखाउँछ। त्यसबाट पहिचान पुष्टि भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिनेछ।
डीएनए परीक्षण खर्चिलो र समय लाग्ने प्रक्रिया भए पनि सरकारले आवश्यक स्रोत तथा साधन उपलब्ध गराएको प्रहरीले जनाएको छ। शव फेला पर्ने क्रम बढ्दै जाँदा उपकरण र जनशक्तिको अभाव भने चुनौतीका रूपमा देखिएको छ। सातै प्रदेशमा विधिविज्ञान प्रयोगशाला सञ्चालन गर्न सके यस्तो चुनौती कम हुने प्रहरीको भनाइ छ।
नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला सामाखुशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पालका अनुसार बाढी प्रभावित क्षेत्रबाट मृतक तथा आफन्तका नमुना संकलन गरी प्रयोगशालामा पठाउने क्रम जारी छ।
उनले संकलित नमुनालाई सुरक्षित भण्डारण गर्दै परीक्षणका सबै मापदण्ड पूरा





