नुवाकोट। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष क. प्रचण्ड नेतृत्वको टोलीले आज बाढी तथा पहिरो प्रभावित धादिङ, नुवाकोट र रसुवाका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरी प्रभावित नागरिकका गुनासा तथा समस्या सुनेको छ।
पूर्वगृहमन्त्री शक्ति बस्नेत, पूर्वसंघीय मन्त्री हितबहादुर तामाङ, बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रदेश सांसद शालिकराम जमरकट्टेल, वर्तमान बागमती प्रदेशका अर्थमन्त्री सरल यात्री, प्रदेश सांसदहरू राधिका तामाङ, रामप्रसाद ढुंगाना लगायत पार्टीका जिल्ला नेताहरू, जनप्रतिनिधि तथा वाईसिएल नेपालका करिब ३०० युवाको टोली स्थलगत निरीक्षणमा सहभागी थियो।
टोलीले धादिङको गजुरी र गल्छीदेखि नुवाकोटको बेलकोट, त्रिशूली हुँदै बट्टार तथा रसुवाको भैँसे–बिन्द्रावती क्षेत्रसम्म पुगेर बाढीबाट भएको क्षतिको अवस्था अवलोकन गरेको हो। सो क्रममा प्रभावित नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, आवश्यकता र तत्काल गर्नुपर्ने राहत तथा पुनःस्थापनाका कामबारे जानकारी लिइएको थियो।
स्थलगत निरीक्षणका क्रममा वाईसिएल नेपालले बेलकोट क्षेत्रमा बाढी प्रभावित परिवारका लागि अस्थायी आवास निर्माणको कामसमेत आजदेखि सुरु गरेको छ। अस्थायी आवास निर्माणका लागि आवश्यक फलामलगायत सामग्री क. प्रचण्डले हस्तान्तरण गरेका थिए।
यसैबीच, नुवाकोट जिल्ला समन्वय समितिको कार्यालयमा सर्वदलीय राजनीतिक छलफलसमेत आयोजना गरिएको थियो। छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत विभिन्न राजनीतिक दलका जिल्ला नेतृत्व, स्थानीय तहका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
बैठकमा बाढी तथा पहिरोबाट भएको क्षति, राहत वितरण, पुनःस्थापना, सडक तथा पूर्वाधार पुनर्निर्माण र प्रभावित नागरिकका तत्कालीन तथा दीर्घकालीन आवश्यकताका विषयमा सम्बन्धित स्थानीय तह र राजनीतिक दलका प्रतिनिधिबाट स्थलगत रिपोर्ट तथा सुझाव लिइएको थियो।
प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझेर राहत, पुनःस्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन स्थानीय तह, राजनीतिक दल, युवा संगठन तथा सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको सहभागीहरूले बताएका छन्।
बाढी आएको दिनदेखि नै प्रभावित क्षेत्रमा श्रमदान तथा राहत अभियानमा सक्रिय रहँदै आएको वाईसिएल नेपालले आजको स्थलगत निरीक्षणसँगै अस्थायी आवास निर्माण तथा प्रभावित बस्तीको पुनःस्थापनामा समेत आफ्नो जनशक्ति परिचालन गर्ने जनाएको छ।






