गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

बागलुङ। ताराखोला गाउँपालिका–४ विसौनाकी देवी घर्तीलाई भदौ ८ गते दिउँसोदेखि नै सुत्केरी व्यथाले च्याप्यो। त्यसमाथि मुसलधारे पानी परिरहेको थियो। गाउँकै स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराउँदै आएकी देवीलाई स्वास्थ्यकर्मीले समस्या बढे पालिकाको एम्बुलेन्स सेवा लिन सुझाव दिएका थिए।

व्यथा बढेपछि देवीका परिवारले पालिकामा सम्पर्क गरे। गाउँपालिकाले तत्काल एम्बुलेन्सको व्यवस्था गरिदियो। पैँतिस वर्षीया देवीले सोही रात गाउँकै हिल स्वास्थ्य चौकीमा आफ्नो तेस्रो सन्तानलाई जन्म दिनुभयो। यसअघि सुत्केरी हुँदा स्टेचरमा घर फर्किनुपरेकी देवीलाई यसपटक भने गाउँपालिकाको एम्बुलेन्सले घरसम्मै पुर्‍याइदियो।

ताराखोला गाउँपालिकाले २०७६ सालदेखि आफ्नो क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ। हालसम्म देवीजस्तै ६५ जना गर्भवती तथा सुत्केरीले उक्त सेवाबाट लाभ लिइसकेका छन्।

गाउँपालिकाले गर्भवती तथा सुत्केरीलाई घरबाट स्वास्थ्य चौकी, स्वास्थ्य चौकीबाट सदरमुकामस्थित धौलागिरि अस्पताल तथा पोखराका अस्पतालसम्म लैजाने र उपचारपछि घरसम्म फर्काउने व्यवस्था मिलाएको गाउँपालिका अध्यक्ष धनबहादुर विकले  बताए।

गाउँपालिकालाई २०६७ सालमा स्थानीय पोषक सापकोटा र उहाँका दाजुभाइले एउटा एम्बुलेन्स उपलब्ध गराउनुभएको थियो। त्यसपछि २०७७ सालमा गलकोट समाजले अर्को एम्बुलेन्स उपलब्ध गराएपछि स्थानीय गर्भवती तथा सुत्केरीलाई स्वास्थ्य संस्थासम्म पुग्न थप सहज भएको छ।

स्थानीयवासीलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले तीन वटा स्वास्थ्य एकाइ सञ्चालन गरिरहेको छ। गाउँपालिकाका सबै वडामा सुविधासम्पन्न प्रसूति सेवासहितका स्वास्थ्य चौकीको समेत व्यवस्था गरिएको छ।