एमाले कार्यदलको बैठक काभ्रेको बल्थलीमा

धुलिखेल – निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको बैठकका लागि नेकपा एमालेका केन्द्रीय नेताहरू शनिबार साँझ काभ्रे पुगेका छन्। उनीहरू पनौती नगरपालिका–११, बल्थलीस्थित एक होटलमा आवासीय बैठकका लागि बसेका हुन्।

केन्द्रीय सदस्य अशोककुमार ब्याञ्जुका अनुसार नेताहरू सुरुमा धुलिखेलमा बस्ने योजनासहित काभ्रे पुगेका थिए। तर, अन्तिम समयमा योजना परिवर्तन गर्दै बल्थली जाने निर्णय गरिएको हो।

बैठकस्थल र होटलको व्यवस्थापन एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले गरेका छन्। ब्याञ्जुले होटलको नाम आफूलाई जानकारी नभएको बताए। बैठकस्थलबारे जिज्ञासा राख्दा डा. अधिकारीले ठाउँ गोप्य राखिएको भन्दै जानकारी दिन नमिल्ने बताएका छन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पार्टी नेतृत्व र कार्यशैलीबारे पुनर्विचार गर्नुपर्ने आवाज उठेपछि एमालेले वैशाखमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल गठन गरेको थियो।

कार्यदलको असार २५ गते बसेको बैठकले उपाध्यक्ष बादल र महासचिव शंकर पोखरेललाई प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएको थियो। महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको बहिर्गमनको विषयसमेत समेटिएपछि ओली पक्षका नेताहरूले त्यसलाई पुनर्लेखन गर्नुपर्ने अडान राखेका थिए।

प्रतिवेदन पारित गर्ने विषयमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यदलको बैठक बसेको थियो। बैठकमा महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनसँगै अर्को प्रतिवेदनसमेत पेश भएपछि विवाद थप जटिल बनेको थियो। शुक्रबारको बैठकले शनिबार पुनः छलफल गर्ने गरी टुंग्याइएको थियो।

शनिबार पनि छलफलबाट तत्काल निष्कर्षमा पुग्न नसकिने देखिएपछि कार्यदलका नेताहरू आवासीय बैठकका लागि काभ्रे पुगेका हुन्। एक एमाले नेताका अनुसार बल्थलीमा बस्ने बैठकमार्फत दुईवटा प्रतिवेदनबीच देखिएको विवाद समाधान गरी एउटै निष्कर्षमा पुग्ने प्रयास गरिनेछ।

कार्यदलमा उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल र भानुभक्त ढकालसहित ९ वटै प्रदेशका इन्चार्ज सदस्य छन्।

एमालेले सात भौगोलिक प्रदेशसहित राजधानी, सम्पर्क मञ्च, केन्द्रीय आयोग, विभाग, सल्लाहकार परिषद्, प्रवास तथा जनसंगठनलगायतका विभिन्न निकायसँग छलफल गरी सुझाव संकलन गरेको थियो। जेठ ३० गतेदेखि सुरु भएको सुझाव संकलन असार २३ गते सम्पन्न भएपछि महासचिव पोखरेलले त्यसका आधारमा प्रतिवेदन तयार गरेका थिए।

तर, प्रतिवेदन पारित गर्ने चरणमा अध्यक्ष ओली पक्षबाट अर्को प्रतिवेदनसमेत पेश भएपछि पार्टीभित्र नयाँ जटिलता उत्पन्न भएको हो। यही विवाद समाधानका लागि बल्थलीमा आवासीय बैठक आयोजना गरिएको एमाले नेताहरूले बताएका छन्।

कार्यदलको बैठक आइतबार दिनभर चल्नेछ। सो दिन पनि निष्कर्षमा पुग्न नसके नेताहरूले आइतबार रातिसमेत बल्थलीमै बसेर छलफललाई निरन्तरता दिने तयारी गरेका छन्।