ट्रक दुर्घटनामा चालकको मृत्यु

तनहुँ — जिल्लाको व्यास नगरपालिका–१२ कमलबारीस्थित पृथ्वीराजमार्गमा आइतबार बिहान ट्रक पल्टिदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान करिब साढे ८ बजेतिर भएको दुर्घटनामा ट्रकका चालकको मृत्यु भएको हो । 

पृथ्वी राजमार्गस्थित डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ६ ख ९४९७ नम्बरको ट्रक आफैं अनियन्त्रित भई सडकमा पल्टिएको थियो । उक्त दुर्घटनामा ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका–६ निवासी करिब २६ वर्षीय अजय थिङ घाइते भएका जिल्ला प्रहरी नायब उपरीक्षक (प्रनाउ) द्वारिका प्रसाद घिमिरेले बताए । उनको उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पठाएको थियो ।

गम्भीर अवस्थामा रहेका थिङको उपचारका क्रममा बिहान करिब ९ बजे चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ । ट्रकमा सवार सहचालकको घुँडामा सामान्य चोट लागेको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ ।

दुर्घटनापछि ट्रक घटनास्थलमै रहेको भए पनि पृथ्वीराजमार्गमा भने कुनै अवरोध नभएको प्रहरीले जनाएको छ ।