काठमाडौं – धादिङको कृष्णभीरमा अवरुद्ध पृथ्वी राजमार्गको नौविसे-मुग्लिन खण्ड असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। त्रिशूली नदीमा आएको बाढीले सडकको करिब १ सय मिटर भाग कटान गरेपछि भदौ १४ गतेदेखि उक्त खण्डमा यातायात अवरुद्ध थियो।
सडक विभागले आइतबार राति जारी गरेको विज्ञप्ति अनुसार नयाँ ट्र्याक निर्माण गरी सडक पुनःस्थापनाको काम सम्पन्न भएपछि यातायात सञ्चालनको तयारी गरिएको हो। विभागले आइतबार सडकको अवस्था र सवारी आवागमनको सम्भाव्यता परीक्षण गरेको थियो। परीक्षण सफल भएपछि असोज १ गतेबाट सर्वसाधारणका लागि राजमार्ग खुला गर्ने निर्णय गरिएको हो।
पृथ्वी राजमार्ग अन्तर्गत नौविसे-मुग्लिन आयोजना पश्चिमकी कार्यालय प्रमुख तथा सिनियर डिभिजन इन्जिनियर सजना अधिकारीका अनुसार सोमबार पनि परीक्षणलाई निरन्तरता दिइनेछ। यस अवधिमा ग्यास बुलेटलगायतका अत्यावश्यक सवारी साधनलाई सञ्चालन अनुमति दिइएको छ। आइतबार काठमाडौं-चितवनतर्फ आउजाउ गर्ने यात्रुवाहक सवारी साधन सञ्चालन गरेर परीक्षण गरिएको थियो।
सडक विभागले भिर डाइभर्सन गरी २ सय ५२ मिटर लम्बाइ र १० मिटर चौडाइ कटान गरेर राजमार्ग सञ्चालनको आधार तयार पारेको हो। विभागले राजमार्गको अवस्था, सवारी सुरक्षा र आवागमनको सम्भाव्यताका विषयमा निरन्तर अनुगमन भइरहेको जनाएको छ। साथै, निर्माण तथा पुनःस्थापना कार्यका क्रममा जारी गरिएका वैकल्पिक मार्गसम्बन्धी निर्देशनहरू पालना गर्न र सहयोग गर्न सरोकारवाला निकायलाई आग्रह गरिएको छ।






