कात्तिक ३, पोखरा ।
चालु आर्थिक वर्षको तीन महिनामा सवारी साधन दुर्घटनामा परी गण्डकी प्रदेशमा ३९ जनाले ज्यान गुमाएका छन् । दुर्घटनाका कारण सबैभन्दा बढी कास्कीमा ११ जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराका अनुसार प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै सवारी साधन दुर्घटना नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा भए पनि ज्यान गुमाउने कास्कीमा धेरै छन् ।
गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार प्रदेशका ११ जिल्लामा तीन महिनाको अवधिमा जम्मा एक सय २ वटा सवारी साधन दुर्घटना परेका छन् । नवलपरासी पूर्वमा मात्रै ४८ वटा सवारी साधन दुर्घटनामा परेका भन्दै उनले ती दुर्घटनामा सात जनाले ज्यान गुमाएका जानकारी दिए ।
कास्कीमा २२ वटा सवारी साधन दुर्घटनामा ११, तनहूँमा १० वटा सवारी साधन दुर्घटनामा चार, स्याङ्जामा नौ वटा सवारी साधन दुर्घटनामा १०, लमजुङमा र बागलुङमा चार÷चार वटा सवारी साधन दुर्घटनामा दुई÷दुई जनाले ज्यान गुमाएका ढकालले बताए ।
त्यस्तै, पर्वतमा दुई वटा सवारी साधन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने म्याग्दीमा भएको एउटा सवारी साधन दुर्घटनामा एक जनाले ज्यान गुमाएका छन् । गण्डकी प्रदेशको गोरखा र मुस्ताङमा एक÷एक वटा सवारी साधन दुर्घटनामा परेका भएपनि कसैको ज्यान गएको छैन ।
मनाङमा कुनै पनि सवारी साधन दुर्घटनामा नपरेको ढकालको भनाइ छ ।
प्रदेशमा भएको सवारी साधन दुर्घटनामा ५० वटा मोटरसाइकल, २१ वटा जिप÷कार, १३ वटा ट्याक्टर, सात वटा ट्रक तथा ट्याङ्कर, चार वटा बस, तीन वटा साइकल तथा दुई÷दुई वटा डोजर तथा ट्याम्पो संलग्न रहेको तथ्यांक छ ।
दुर्घटनाको मुख्य कारण चालकको लापरबाही रहेको समेत ढकालले जानकारी दिए ।
सवारी चालक अनुमतिपत्र नभएका चालकले सवारी साधन गुडाउँदा समेत दुर्घटना बढ्ने भएकाले यसको न्यूनीकरणका लागि काम भइरहेको ढकालले बताए । यातायात व्यवस्था विभागसँग समन्वय गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व), जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहूँमा स्मार्ट लाइसेन्स कार्ड रिडर मेसिन प्रयोगमा ल्याइएको ढकालको भनाइ छ ।
त्यस्तै सवारी साधनको गति सीमित गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र तनहुँमा राडरको प्रयोग गरेर सवारी साधनको गति चेकजाँच गर्ने र तीव्र गतिमा सवारी साधन गुडाउनेलाई कारबाही गर्ने गरिएको छ ।
गण्डकी प्रदेशमा आव २०७६÷०७७ मा चार सय ३१ वटा दुर्घटनामा परी दुई सय २३ जनाले ज्यान गुमाएका थिए । त्यस्तै दुर्घटनामा परी ३८ जना बालबालिकासहित चार सय २४ जना गम्भीर घाइते भएका गण्डकी प्रदेश ट्राफिक प्रहरीले जनाएको छ ।
यो वर्ष तीन सय ४७ वटा दुर्घटना सवारी चालकको लापरबाहीका कारण भएको देखिएको छ । (रासस)







