गण्डकी । लामो प्रतीक्षापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ। दुबईबाट पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज ७ गते (सेप्टेम्बर २३) साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने तालिका सार्वजनिक भएको छ।
पहिलो उडानका अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पानीको फोहोरा (वाटर सलुट) सहित फ्लाइ दुबईको जहाज र यात्रुलाई स्वागत गरिने विमानस्थलले जनाएको छ। पोखरा अवतरणपछि सोही जहाजले साँझ ७ः१५ बजे यात्रु लिएर दुबईका लागि प्रस्थान गर्नेछ।
विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार फ्लाइ दुबईले पोखरा–दुबई उडानमा एयरबस ३१९ र ३२० आलोपालो सञ्चालन गर्नेछ। एयरबस ३१९ मा १४० देखि १५० तथा एयरबस ३२० मा १६० देखि १८० जनासम्म यात्रु अट्ने क्षमता छ।
“फ्लाइ दुबईले आवश्यकताअनुसार पोखराका लागि एयरबस ३१९ र ३२० आलोपालो उडाउनेछ,” रावतले भने, “पहिलो उडानमा पोखरा आउने यात्रुको सङ्ख्या उल्लेख्य छ। पोखराबाट दुबई फर्कँदा जहाजले यात्रुसँगै कार्गोसमेत लैजानेछ।”
उनका अनुसार फ्लाइ दुबईको नियमित उडान हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्ने तालिका छ। पहिलो दिन भने निर्धारित समयभन्दा केही अगावै जहाज अवतरण हुनसक्ने उनले बताए। नियमित उडानको तयारीका लागि विमानस्थलले आवश्यक काम अघि बढाइसकेको छ।
दुबई–पोखरा–दुबई नियमित उडान सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाइ दुबईलाई अनुमति दिएको थियो। सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेको केही समयपछि फ्लाइ दुबईले उडान अनुमति पाएको हो।
विश्वकै प्रमुख हवाई ट्रान्जिट हबमध्ये एक दुबईसँग पोखराको प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिने अपेक्षा गरिएको छ। सञ्चालनमा आएको तीन वर्ष बितिसक्दासमेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन।
फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले काठमाडौँको तुलनामा पोखराबाट दुबई जाने टिकट करिब पाँच हजार रुपैयाँसम्म सस्तो पर्ने बताए। उनका अनुसार फ्लाइ दुबईले विश्वका १२० भन्दा बढी गन्तव्यमा उडान गर्दै आएको छ। पोखरा–दुबई उडान प्रवर्द्धनका क्रममा यात्रु तथा साझेदार संस्थालाई विभिन्न छुट तथा सुविधा उपलब्ध गराइने उनले बताए।
पोखरा–दुबई उडान सफल भएमा अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई समेत पोखरा आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
फ्लाइ दुबई र इमिरेट्स एयरलाइन्सबीचको रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत पोखरा–दुबई उडान सञ्चालन हुनेछ। यसका कारण पोखराबाट दुबई हुँदै अष्ट्रेलिया, युरोप, अमेरिका लगायतका गन्तव्यमा जाने यात्रुले एउटै टिकटमार्फत यात्रा गर्न सक्ने सुविधा पाउनेछन्।
इमिरेट्सले दुबई अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–३ लाई प्रमुख हब बनाएर विश्वका विभिन्न महादेश तथा गन्तव्यलाई हवाई सञ्जालमार्फत जोड्दै आएको छ। फ्लाइ दुबईसँगको कोडसेयर साझेदारीले पोखराबाट दुबई हुँदै अन्य देश जाने यात्रुको ट्रान्जिटलाई सहज बनाउने अपेक्षा गरिएको छ।
लामो समयको प्रतीक्षापछि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन लागेपछि पोखराका पर्यटन व्यवसायी उत्साहित भएका छन्। उडानलाई दिगो बनाउन सरकारी निकाय तथा निजी क्षेत्रले बजारीकरण र प्रवर्द्धनमा जोड दिएका छन्। सुरुमा एक महिनाका लागि दैनिक एक उडान गर्ने घोषणा गरेको फ्लाइ दुबईले सन् २०२७ मार्च २६ सम्मको बुकिङसमेत खुला गरिसकेको जनाएको छ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पोखराबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानले नेपालको पर्यटन क्षेत्रमा प्रत्यक्ष लाभ पुग्ने बताए। उडानलाई सफल बनाउन पोखराका पर्यटन व्यवसायी एकताबद्ध भएर लाग्ने उनको भनाइ छ।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरा–दुबई उडानलाई सफल बनाउनु सबै सरोकारवालाको साझा दायित्व भएको बताए। “पोखरालाई विश्वास गरेर फ्लाइ दुबई यहाँ आएको छ, हामी सबैले आ–आफ्नो ठाउँबाट साथ दिनुपर्छ,” उनले भने।
उनले पहिलोपटक सुरु हुन लागेको नियमित उडानलाई दिगो बनाउन सम्भावित चुनौती पहिचान गरी त्यसलाई अवसरमा बदल्नुपर्नेमा जोड दिए। पोखराको प्राकृतिक सौन्दर्य र अनुकूल हावापानीलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न पनि उडानले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
यसैगरी, पोखरा महानगरपालिका र फ्लाइ दुबईबीच पर्यटन प्रवर्द्धन, गन्तव्यको बजारीकरण तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारलगायत क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ।
पोखरा–दुबई उडानबाट गण्डकी प्रदेशसहित आसपासका क्षेत्रको पर्यटन, व्यापार र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। दुबई हुँदै लण्डन, न्युयोर्क, टोकियोलगायत विश्वका २५० भन्दा बढी गन्तव्यमा पुग्न यस क्षेत्रका यात्रुलाई सहज हुने बताइएको छ।
वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि अरब मुलुकलगायत विभिन्न देश जाने यात्रुका लागि पनि प्रत्यक्ष उडान लाभदायी हुने देखिएको छ। त्यस्तै, विदेशी पर्यटकलाई दुबईबाट सिधै पोखरा ल्याउन सकिने भएकाले पोखरासहित आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसअघि सन् २०२५ मार्चमा हिमालय एयरलाइन्सले पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरु गरेको थियो। तर यात्रु सङ्ख्या न्यून भएपछि उक्त सेवा हाल स्थगित छ। फ्लाइ दुबईको पोखरा–दुबई उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने दोस्रो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुनेछ। यसअघि चीन, भारत र भुटानका विभिन्न गन्तव्यमा चार्टर उडान हुँदै आएका थिए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा लिइन्छ। काठमाडौँमा केन्द्रित हवाई चाप घटाउँदै पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधिलाई विस्तार गर्न पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नुपर्ने माग लामो समयदेखि उठ्दै आएको थियो।






