बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट क्षतिग्रस्त सडक तथा पुललाई असोजभित्रै सञ्चालनमा ल्याउने गरी पुनःनिर्माणको काम अघि बढाएको जनाएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहसँग सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडक तथा पुल पुनःनिर्माणलाई तीव्रता दिन विभिन्न विषयगत आठ वटा कार्यदल गठन गरिएको जानकारी दिए ।

उनका अनुसार प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र झोलुङ्गे पुल जडानलाई प्राथमिकता दिइएको छ । त्यसपछि पक्की सडक तथा पुलको निर्माणलाई समेत तीव्र गतिमा अघि बढाइने उनले बताए ।

पूर्वाधार पुनःनिर्माणमा दोहोरोपन नहोस् भन्ने उद्देश्यले स्थानीय तहका जनप्रतिनिधिलाई प्रभावकारी समन्वय गर्न मन्त्री लम्सालले आग्रह गरे । उनले काठमाडौंमै रहेर मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखसँग समन्वय गरी आ–आफ्नो क्षेत्रका क्षतिग्रस्त पूर्वाधारको विवरण उपलब्ध गराउन, योजना निर्माण, कार्यान्वयन, अनुगमन तथा नियमनमा सहयोग गर्न आग्रह गरे ।

“प्रभावित क्षेत्रमा आगामी मङ्सिरसम्म खानेपानी प्रणाली पुनःस्थापना गरिनेछ,” मन्त्री लम्सालले भने, “स्वास्थ्य, शिक्षालगायतका अन्य पूर्वाधार पुनःस्थापनाको काम पनि सरकारले अघि बढाइरहेको छ ।”