कात्तिक, ३ काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीको समयमा पनि दशैं भत्ता लिएको भनी आलोचना हुन थालेपछि पाँच सांसदले भत्ता नलिने घोषणा गरेका छन् ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेकपा नेता भीम रावल र सांसद सूर्य पाठकले संसद सचिवालयलाई पत्र लेखेर आफ्नो दशैं भत्ता कटौती गरिदिन आग्रह गरेका छन् ।
संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुुसार संसद सचिवालयमा राष्ट्रिय सभा अध्यक्ष तिमल्सिना र नेकपा नेताद्धय रावल र पाठकले पत्र पुगेको छ ।
नेकपाकै नेता जनादर्श शर्माले पनि सामाजिक सञ्जालमार्फत दशैं भत्ता फिर्ता गर्ने घोषणा गरेका छन् ।
नेकपाका प्रवक्तासमेत रहेका राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले यस अगाडि नै भत्ता नलिने घोषणा गरिसकेका छन ।
दसैं भत्ताले भेन्टिलेटर किनौं : जनार्दन शर्मा
नेकपाका सांसद जनार्दन शर्माले दशैं भत्ताको रकम भेन्टिलेटर किन्न लागि खर्च गर्न सकिने बताएका छन्।
‘कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दसैं भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौं’ शर्माले ट्विटरमा लेखेका छन् ।
सांसद शर्माले आफूले पाएको दसैं भत्तावापतको रकम भेन्टिलेटरमा राखेर उपचार गर्नु परेक बिरामीलाई दिने पनि उल्लेख गरेका छन् ।
‘दसैं भत्तास्वरुप आएको रकम कालिकोटका पूर्व जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु’ उनले भनेका छन् ।
मन्त्रिपरिषदको निर्णयमा टेकेर दिइएको हो : सचिवालय
कतिपयले सांसदहरुले दशैं भत्ता आएको नआएको थाहै नभएको वा दशैं भत्ताको विषयमा सांसदहरुसँग सोधी खोजी नगरिएको टिप्पणी गर्ने गरेका छन् । ‘सांसदको के दोष ? सचिवालयले हालिदियो’ एक सांसदले भने ।
तर, आफुहरुले अघिल्लो वर्षको मन्त्रिपरिषदको निर्णयमा टेकेर सांसदहरुलाई खातामा दशैं भत्ता उपलब्ध गराइदिएको सचिवालयका प्रवक्ता पाण्डेले प्रष्टीकरण दिएका छन् । ‘हाम्रो काम समन्वय गर्ने हो, अघिल्ले वर्षको निर्णयमा टेकेर पठाइयो । नदिने हो भने सोही अनुसार निर्णय भएर आउनुपर्दथ्यो’ पाण्डेले अनलाइनखबरसँग भने ।
संघीय कानुनमा सांसदहरुले घरबहाल, बिजुली, पानी, सञ्चार खर्च, बैठक भत्ता र भ्रमण भत्ता पाउने व्यवस्था छ ।
तर, दशैं खर्चसम्बन्धी व्यवस्था छैन । अघिल्लो वर्ष सरकारले निर्णय नै गरे सांसदहरुलाई दशैं भत्ता उपलब्ध गराएको थियो ।
गतवर्ष जस्तै यसवर्ष पनि सांसदलाई नियमित तलबमा दशैं भत्ता बापत्त एक महिना बराबरको रकम बढी दिइएको छ । हाल संघीय सांसदको तलब ६५ हजार १ सय ७१ रुपैयाँ छ ।
संघीय संसदमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा गरी ३३४ जना सदस्य छन् । ति मध्ये केही निलम्बनमा पनि छन् । निलम्बनमा रहेका सांसदहरुले निलम्बनमा रहुन्जेल तलब,सुविधा केही पनि पाउँदैनन् ।







