खोटाङ – दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानिएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खार्मीको निङ्गालेस्थित महभीरका ५२ वर्षीय श्यामबहादुर तामाङ रहेका छन् । उनलाई सोही ठाउँका ५४ वर्षीय भलबहादुर तामाङले बाँदर धपाउने क्रममा प्रहार गरेको गोली लागेको हो ।
मङ्गलबार दिउँसो करिब २ बजे मकैबारीमा आएको बाँदरलाई घेरा हालेर धपाउने क्रममा भलबहादुरले भरुवा बन्दुक प्रहार गरेका थिए । आफूले बाँदरलाई ताकेर गोली चलाउँदा त्यही बेला श्यामबहादुर अगाडि आइपुगेपछि गोली उनको टाउकोमा लागेको भलबहादुरले प्रहरीलाई बताएका छन् ।
गोली लागेर श्यामबहादुरको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि भलबहादुरले आफैँ प्रहरीलाई फोन गरी घटनाबारे जानकारी गराएका थिए ।
उनले बाँदर मकैबारीमा दैनिकजसो आउने भएकाले आफू र श्यामबहादुर मिलेर धपाउन गएको बताएका छन् । वल्लो र पल्लो डाँडाबाट घेरा हालेर बाँदर धपाउने क्रममा आफूले गोली चलाएको उनको भनाइ छ ।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी खार्मीबाट टोली घटनास्थल पुगेको थियो । जिल्लाबाट प्रहरी निरीक्षक निराजन बस्नेतको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए ।
प्रहरीले घटनास्थलको सर्जमिन तथा आवश्यक अनुसन्धान अघि बढाएको छ । मृतकको शव र बन्दुक प्रहार गर्ने भलबहादुरलाई जिल्ला पठाउने तयारी भइरहेको वडा सदस्य वीरेन्द्र राईले जानकारी दिए ।






