अन्तिमपटक अर्जेन्टिनाको जर्सीमा देखिनेछन् मेसी, आँसु झार्दै हुनेछ बिदाइ

काठमाडौँ । अर्जेन्टिनाले अक्टोबरमा बेनिनविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि स्टार फरवार्ड लियोनल मेसीलाई टोलीमा समावेश गरेको छ । यो खेल मेसीको अर्जेन्टिनाका लागि अन्तिम अन्तर्राष्ट्रिय खेल बन्ने अपेक्षा गरिएको छ ।

मेसीले २०२६ को विश्वकप फाइनलमा स्पेनसँग अर्जेन्टिना पराजित भएपछि अगस्टमा राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरेका थिए । त्यसअघि बुबा जोर्जको निधनपछि उनले आफ्नो फुटबल भविष्यबारे सोचिरहेको बताएका थिए ।

सन् २०२२ को विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाउँदा कप्तानी गरेका ३९ वर्षीय मेसीले राष्ट्रिय टोलीबाट अलग हुने निर्णयले आफूलाई ‘गहिरो रूपमा’ पीडा दिएको बताएका थिए ।

तर, उनले अर्जेन्टिनाका लागि आफूले सक्दो सबै दिएको र अब आफूले दिन बाँकी केही नरहेको बताएका थिए ।

आठ पटकका बालोन डी’ओर विजेता मेसी हाल इन्टर मियामीबाट खेलिरहेका छन् । उनी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता र सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनले राष्ट्रिय टोलीका लागि २०७ खेलमा १२५ गोल गरेका छन् ।

अर्जेन्टिना फुटबल संघका अध्यक्ष क्लाउडियो तापियाले मेसीलाई राष्ट्रिय टोलीका लागि योग्य बिदाइ दिन अक्टोबर ६ मा अर्जेन्टिनामै खेल आयोजना गर्न लागिएको बताए ।

ुविश्वकै उत्कृष्ट खेलाडी, हाम्रो राष्ट्रिय टोलीका प्रतीक तथा कप्तान लियोनल आन्द्रे मेसीलाई उनले पाउनुपर्ने बिदाइ दिन हामीले निम्तो दिने निर्णय गरेका छौँ,ु तापियाले भने ।

बेनिनविरुद्धको खेल ब्युनस आयर्सस्थित रिभर प्लेटको ८५ हजार दर्शक क्षमताको एस्टाडियो मोनुमेन्टलमा हुनेछ । सन् २०२२ को विश्वकप जितेको अर्जेन्टिनाको टोलीका सदस्यहरूलाई पनि उक्त खेलमा निम्तो दिइएको छ ।

विश्वकपका क्रममा फिफाको अनुशासनसंहिता उल्लंघन भएपछि अर्जेन्टिनालाई घरेलु मैदानमा हुने दुई खेल ५० प्रतिशत क्षमतामा खेलाउने सजाय सुनाइएको थियो । त्यसमध्ये एउटा खेलको सजाय स्थगित गरिएको थियो ।

विश्वकपका क्रममा खेललाई गैरखेलकुद गतिविधिका प्रदर्शनका लागि प्रयोग गर्नु, टोलीको अनुशासन उल्लंघन तथा समर्थकबाट भेदभावपूर्ण नारा र हाउभाउ गरेको आरोपमा अर्जेन्टिनामाथि कारबाही भएको थियो ।

इंग्ल्यान्डलाई २(१ ले हराउँदै विश्वकपको सेमिफाइनल जितेपछि अर्जेन्टिनाका केही खेलाडीले बेलायती अधीनमा रहेको फकल्यान्ड टापुमाथि अर्जेन्टिनाको सार्वभौमसत्ता दाबी गरिएको ब्यानरसमेत प्रदर्शन गरेका थिए ।

अर्जेन्टिनाले सेप्टेम्बर ३० मा कोर्डोबामा बोलिभिया र अक्टोबर ३ मा ब्युनस आयर्समा बुर्किना फासोसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसैले बेनिनविरुद्धको खेलअघि नै प्रतिबन्धसम्बन्धी सजाय पूरा हुने अपेक्षा गरिएको छ ।

यता, विश्वकप फाइनलपछि भएको मैदानभित्रको झडपमा संलग्न भएको भन्दै अर्जेन्टिनाका मिडफिल्डर लिएन्ड्रो पाराडेसलाई १० खेल र नाहुएल मोलिनालाई ७ खेलको प्रतिबन्ध लगाइएको छ । त्यसका कारण उनीहरू बेनिनविरुद्धको खेलमा उपलब्ध हुने अपेक्षा गरिएको छैन ।