ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

मुस्ताङ । जलवायु परिवर्तन सम्मेलन आयोजना गर्ने घरपझोङ गाउँपालिकाको एक वर्षअघिदेखिको सपना अन्ततः पूरा भएको छ। जलवायु परिवर्तनको असर नेपालमा मात्र नभई विश्वभर बढिरहेका बेला हिमाली जिल्ला मुस्ताङमा आयोजित सम्मेलनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट चासोका साथ हेरिएको छ।

गत वर्ष भदौको अन्तिम साता आयोजना गर्ने तयारी गरिएको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ जेनजी आन्दोलनका कारण स्थगित भएको थियो। तर, जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको मुस्ताङमा सम्मेलन आयोजना गर्नैपर्ने जिल्लावासी र स्थानीय जनप्रतिनिधिको साझा धारणा बनेपछि यस वर्ष सम्मेलन सम्भव भएको हो।

सम्मेलन जलवायु सङ्कटका विषय उठाउने मञ्चमा मात्र सीमित रहेन। यसले सातै प्रदेशका सयौँ स्थानीय तहका जनप्रतिनिधिलाई एउटै मञ्चमा भेला गराएर जलवायु परिवर्तनका असरबारे साझा छलफलको अवसरसमेत जुटाएको छ।

जलवायु परिवर्तनका कारण उत्पन्न समस्यालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म पुर्‍याउने उद्देश्यले गाउँपालिकाले सङ्घीय मामिला मन्त्रालयको समन्वयमा देशभरका ७५३ वटै स्थानीय तहलाई निमन्त्रणा गरेको थियो। त्यसमध्ये ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका पदाधिकारी सम्मेलनमा सहभागी भएका थिए।

धार्मिक, सामाजिक, सांस्कृतिक तथा सामरिक दृष्टिले समेत महत्त्वपूर्ण मानिने मुस्ताङमा ठूलो सङ्ख्यामा आएका पाहुनाको आवास तथा खानपान व्यवस्थापन चुनौतीपूर्ण भए पनि स्थानीय होटल व्यवसायीले न्यानो आतिथ्य प्रदान गरेका थिए।

सम्मेलनमा सहभागी अधिकांशले प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शनसँगै मुस्ताङका स्याउबारी र प्राकृतिक तथा भौगोलिक सुन्दरताको अवलोकन गर्ने अवसर पाए। सम्मेलन उद्घाटनअघि गाउँपालिकाको कार्यालयबाट स्थानीय रहनसहन, वेशभूषा र संस्कृतिको झल्को दिने झाँकीसहित प्रभातफेरी तथा र्‍याली निकालिएको थियो। र्‍याली सम्मेलनस्थल कभर्डहलमा पुगेर उद्घाटन समारोहमा परिणत भएको थियो।

सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि सङ्घीय कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौती सामना गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको बताइन्। सो अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्मेलन सफलताको शुभकामनासहित पठाएको सन्देश वाचन गरिएको थियो। यसअघि गाउँपालिका उपाध्यक्ष जमुना थकालीले सम्मेलन आयोजना गर्नुको उद्देश्य र आवश्यकताबारे सहभागीलाई जानकारी गराएकी थिइन्।

सम्मेलनमा प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीसहित प्रदेश, जिल्ला र स्थानीय तहका जनप्रतिनिधिले जलवायु परिवर्तनका कारण नेपालमा देखिएका असरबारे आफ्ना अनुभव र धारणा प्रस्तुत गरे।

उद्घाटन सत्रपछि आयोजित प्राविधिक सत्रमा सहसचिव हरिप्रसाद शर्मा, प्रा. डा. विनोद दवाडी, विज्ञ डा. कृष्णचन्द्र देवकोटा र सहसचिव गणेशप्रसाद भट्टले जलवायु परिवर्तनका विभिन्न प्रभावबारे विषयगत कार्यपत्र प्रस्तुत गरेका थिए।

त्यसपछि भएको समूहगत छलफलमा पालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका प्रतिनिधिले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा मात्र नभई स्वास्थ्य, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा समेत पारेको प्रभावबारे गहन छलफल गरेका थिए।

सम्मेलनको अन्त्यमा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३’ को साझा घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए।