बालक चन्द्रवंशीको वार्षिक आम्दानी ४० लाख

सुनसरी। दुई वर्षअघि कुवेतबाट स्वदेश फर्किएर कृषि पेसा सुरु गर्नुभएका बालक चन्द्रवंशीले अहिले वार्षिक करिब ४० लाख रुपैयाँ आम्दानी गर्न थाले । उहाँले ५० हजार रुपैयाँको लगानीबाट सुरु गरेको व्यावसायिक तरकारी खेती अहिले करिब चार बिघा क्षेत्रफलमा विस्तार गर्नुभएको छ ।

पहिले उहाँको अधिकांश बारी बाँझै रहने गरेको थियो । घरमा काम गर्ने जनशक्ति नहुँदा थोरै जग्गामा धान र मकै मात्र लगाउने गरिएको थियो । उत्पादन घरायसी प्रयोजनका लागि पर्याप्त भए पनि नगद आम्दानी भने नहुने चन्द्रवंशी बताए ।

“नेपालमा जागिर खाँदा कमाइ थोरै थियो । अलिक बढी कमाइ होला भन्ने सोचेर विदेश गएँ, त्यहाँ पनि सोचेअनुसार कमाउन सकिएन,” उहाँले भन्नुभयो, “अहिले तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेको छ ।”

दैनिकजसो तरकारी बिक्री हुने भएकाले आम्दानी नियमित हुने गरेको उहाँको भनाइ छ । उहाँले करिब अढाई बिघामा गोलभेँडा खेती गर्नुभएको छ भने बाँकी क्षेत्रमा काँक्रो, बोडी, घिरौँला, खुर्सानीलगायत मौसमी तरकारी लगाए ।

मौसम अनुकूल भए उत्पादन राम्रो हुने र सिँचाइको उचित व्यवस्थापन गर्न सके तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सकिने उहाँको अनुभव छ । “भदौको पहिलो सातादेखि गोलभेँडा रोप्न सुरु गरिन्छ भने कात्तिकको अन्तिम सातादेखि टिप्न थालिन्छ,” उहाँले भन्नुभयो, “अन्य मौसमी तरकारी भने वर्षभरि उत्पादन भइरहन्छन् ।”

लामो समयसम्म नबिग्रिने आधुनिक जातका गोलभेँडा टाढाका बजारमा समेत पठाउन सहज हुने भएकाले आफूले गोलभेँडा खेतीलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो । गोलभेँडाका केही कलमी बिरुवा भारतबाट ल्याएर रोप्ने र बाँकी बिरुवा आफैँ उत्पादन गर्ने गरेको उहाँको भनाइ छ । अन्य तरकारीका बिरुवा भने स्थानीय बजारबाट खरिद गर्ने गरिएको छ ।

उत्पादित तरकारी बिक्रीका लागि आफैँ बजार धाउनुपर्ने अवस्था नरहेको चन्द्रवंशी बताउनुहुन्छ । धनकुटा, झापा, उदयपुर, धरान, इटहरी र इनरुवालगायत स्थानबाट व्यापारीहरू बारीमै आएर तरकारी खरिद गरी लैजाने गरेका छन् । सडक तथा यातायातको सहज पहुँचका कारण उत्पादन बिक्री गर्न सजिलो भएको उहाँको भनाइ छ ।

उहाँको खेतीमा वर्षभरि जालादारीमा १२ जनाभन्दा बढी कामदार कार्यरत छन् । भदौको अन्तिम सातादेखि वैशाखसम्म भने दैनिक २० देखि ३० जनासम्म कामदारलाई मासिक १८ हजारदेखि २० हजार रुपैयाँसम्म पारिश्रमिक दिएर काममा लगाउने गरिएको उहाँले जानकारी दिनुभयो ।

“श्रीलङ्का टप्पुमा अधिकांश स्थानीय आफैँ खेती गर्ने भएकाले कामदार पाउन गाह्रो छ । अहिले सप्तरीबाट कामदार ल्याएर खेतीमा काम लगाएको छु,” उहाँले भन्नुभयो ।

तरकारी खेतीसँगै चन्द्रवंशीले करिब अढाई बिघामा मकै खेतीसमेत गर्दै आउनुभएको छ । मकै बिक्रीबाट वार्षिक चार लाख रुपैयाँसम्म आम्दानी हुने उहाँले बताउनुभयो । कृषि पेसाबाट भएको आम्दानीले उहाँले प्रकाशपुरमा पाँच कठ्ठा जग्गासमेत खरिद गर्नुभएको छ ।

“गाउँमै राम्रो कमाइ छ । रोजगारी सिर्जना गर्न सकेकामा सन्तुष्ट छु । राम्रो व्यवसायी भनेर चिनेका छन् । नाम पनि, अनि दाम पनि,” चन्द्रवंशीले भने ।

चन्द्रवंशीको खेतीमा विगत चार वर्षदेखि काम गर्दै आउनुभएका सप्तरीका राजकुमार पनि स्वदेशमै रोजगारी पाएकोमा खुसी हुनुहुन्छ । आफ्नै गाउँमा पर्याप्त खेतीयोग्य जमिन र रोजगारीको अवसर नभएकाले उहाँ चन्द्रवंशीको खेतमा काम गर्न आए ।

“आफ्नो गाउँमा पर्याप्त खेतीपाती गर्ने बारी छैन । त्यहाँ काम पनि पाइँदैन । खेती पनि छैन । यहाँ आएर काम गरिरहेको छु । रोजगार पाएकोमा खुसी छु,” उहाँले भन्नुभयो, “विदेश जानुभन्दा नेपालमै काम गर्नु राम्रो हुन्छ । यहाँ थोरै आम्दानी भए पनि बचत हुन्छ । विदेशमा दुःख गरेर ४०–५० हजार रुपैयाँ कमाए पनि आफैँलाई खर्च पु¥याउन गाह्रो हुन्छ । नेपालमा १५–२० हजार रुपैयाँ कमाइ भए पनि सबै रकम बचत गर्न सकिन्छ ।”