चितवन– त्रिशूली नदीको बाढीले सडकको तल्लो भाग बगाएपछि भासिएको कृष्णभीरमा नयाँ ट्र्याक निर्माण गरी बिहीबार बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गरिने भएको छ।
बाढीका कारण गत भदौ १४ गते कृष्णभीरमा सडक भासिएपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो। त्यसपछि भदौ १८ गतेदेखि नजिकैको ढिस्को काटेर वैकल्पिक नयाँ ट्र्याक निर्माणको काम अघि बढाइएको थियो।
नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)का इन्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्म नयाँ ट्र्याक निर्माणको सबै काम सम्पन्न हुनेछ। अहिले ग्राभेल बिछ्याउने र नाली निर्माण गर्ने काम भइरहेको छ।
उनका अनुसार स्थानीय बेनीघाट रोराङ गाउँपालिकाले सडकमा फ्लडलाइट जडान गरिरहेको छ। फ्लडलाइट जडान भएपछि रातिको समयमा समेत सवारी सञ्चालन गर्न सहज हुने उनले बताए।
पूर्वाधार विकास मन्त्रालयले जारी गरेको सूचनाअनुसार बिहीबार बिहान ६ बजेदेखि कृष्णभीरमा पूर्णरूपमा यातायात सञ्चालन गरिनेछ। नदी कटानका कारण करिब १०० मिटर सडक क्षतिग्रस्त भई यातायात अवरुद्ध भएकोमा आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरी नयाँ ट्र्याक निर्माण तथा सडक पुनःस्थापनाको काम अन्तिम चरणमा पुर्याइएको मन्त्रालयले जनाएको छ।
धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले बुधबार साँझसम्म काम सम्पन्न भए रोकिएका सवारीसाधनलाई त्यही दिन पार गराउने बताए। उनका अनुसार साँझको प्रगति समीक्षा गरेर रोकिएका गाडीलाई गन्तव्यतर्फ पठाइनेछ। बिहीबार बिहानदेखि भने कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन हुनेछ।
कृष्णभीरमा यातायात सञ्चालनमा आएपछि नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आंशिक रूपमा रोकिएका सवारीसाधन पनि गन्तव्यतर्फ पठाउन सहज हुनेछ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृष्णभीरमा यातायात सञ्चालन भएपछि तत्कालका लागि तुइन खोलामा सडक आंशिक रूपमा रोकेर भइरहेको पहिरो रोकथामको काम स्थगित गरिने बताए।
कृष्णभीरमा लामो समयदेखि सडक अवरुद्ध हुँदा ठूला सवारीसाधन राजधानी आउजाउ गर्न नसक्दा काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्तिसमेत प्रभावित भएको छ।






