बेपत्ताका परिवार डिएनए परीक्षणको रिपोर्टको पर्खाइमा

राँझा (बाँके)- बाढीमा बेपत्ता भएका आफन्तको अवस्था अज्ञात रहेपछि बाँकेका परिवार डीएनए परीक्षण रिपोर्टको पर्खाइमा छन्। आफन्तको सास वा शव केही फेला नपर्दा उनीहरू सामाजिक संस्कारसमेत गर्न नपाएको पीडा व्यक्त गर्छन्।

नेपालगञ्ज उपमहानगरपालिका–२० का अनलाल रोकायका दाजु–भाउजु र एक मात्र छोरा बाढीमा बेपत्ता भएपछि उहाँको परिवारमा सन्नाटा छाएको छ। रसुवा भन्सार कार्यालय, टिमुरे क्षेत्रमा कार्यरत ५३ वर्षीय शेरसिंह रोकाय र ५६ वर्षीया विष्णुमती रोकायलाई भेट्न गएका १९ वर्षीय दीपक रोकायसमेत बाढीसँगै बेपत्ता भएका हुन्।

बेपत्ता भएको २२ दिन बितिसक्दा पनि उनीहरूको अवस्थाबारे कुनै जानकारी नआएको अनलालले बताउनुभयो। “हाम्रा मान्छे कतै फर्किहाल्छन् कि भन्ने आशा मर्दै गएको छ,” उहाँले भन्नुभयो, “डीएनए परीक्षण रिपोर्ट मिल्छ कि भन्ने झिनो आशा र मनभित्रको असह्य पीडाबीच विछोडको भारी थाम्न विवश छौँ।”

शव पहिचानका लागि डीएनए परीक्षण गर्न नमुना दिएपछि बेपत्ता दाजु, भाउजु र छोराको अवस्था यकिन हुने आशा रहेको उहाँले बताउनुभयो। अनलालले नेपालगञ्जस्थित भेरी अस्पतालमा डीएनए परीक्षणका लागि नमुना दिए।

रिपोर्ट नआएकाले बेपत्ता आफन्तको सामाजिक संस्कारसमेत गर्न नसकिएको उहाँको भनाइ छ। उहाँले डीएनए परीक्षणको रिपोर्ट यथाशीघ्र सार्वजनिक गरी बेपत्ता व्यक्तिको अवस्थाबारे सरकारले परिवारलाई आधिकारिक जानकारी दिनुपर्ने बताए।

यसैगरी रोजगारीका लागि रसुवा पुगेका आराम दमाई र उजना दमाई पनि बाढीमा बेपत्ता भएपछि उहाँहरूका छोराछोरी आमाबुबा फर्किने आशामा दिन बिताइरहेका छन्। १६ वर्षीय सुभाष नेपाली, ११ वर्षीय अश्विन र नौ वर्षीया स्मारिका पनि डीएनए परीक्षणको रिपोर्टको प्रतीक्षामा छन्।

नेपालगञ्ज–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले डीएनए रिपोर्ट नआएकाले बेपत्ता परिवारलाई सान्त्वना दिँदै आएको बताउनुभयो। उहाँले बेपत्ताको खोजी जारी राख्नुका साथै सहाराविहीन बनेका आराम र उजनाका बालबालिकाको पालनपोषण तथा शिक्षाका लागि आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाए।

बाढीपछि बेपत्ता आफन्तको खोजीमा गएका केही व्यक्तिले चितवन र काठमाडौंस्थित अस्पतालमा तथा १६ जनाले भेरी अस्पतालमा डीएनए परीक्षणका लागि नमुना दिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए।

डीएनए परीक्षणका लागि बेपत्ता व्यक्तिका पहिलो तहका नातेदार—बाबु, आमा, छोरा वा छोरी—को ताजा रगतको नमुना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ।

बाढीपछि बाँकेका २३ जना व्यक्ति अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म तीन जनाको शव सनाखत गरी मृत्यु घोषणा गरिएको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको छ।