गुल्मी – गुल्मीको एकमात्र रेसुङ्गा विमानस्थलबाट तीन महिनादेखि कुनै पनि हवाई उडान हुन सकेको छैन। गत जेठको तेस्रो सातादेखि उडान अवरुद्ध भएपछि विमानस्थल सुनसान बनेको छ।
प्रतिकूल मौसमका कारण पटक–पटक निर्धारित उडान रद्द हुँदा राजधानी आवतजावत गर्ने यात्रु सडकमार्गमा निर्भर हुन बाध्य भएका छन्। विशेषगरी वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक कामका लागि काठमाडौँ जाने यात्रु बढी प्रभावित भएका छन्।
रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार वर्षायाममा बाक्लो कुहिरो लाग्ने भएकाले नियमित उडान सञ्चालनमा समस्या भएको हो। पछिल्लो समय मौसममा सुधार आउन थालेकाले चाँडै हवाई सेवा नियमित हुनसक्ने उहाँले बताउनुभयो।
नेपाल वायुसेवा निगमले रेसुङ्गा विमानस्थलबाट शनिबार, आइतबार र बिहीबार गरी सातामा तीन दिन उडान गर्ने तालिका निर्धारण गरेको थियो। तर प्रतिकूल मौसमका कारण तालिकाअनुसार उडान हुन नसक्दा यात्रुले पटक–पटक टिकट रद्द गर्नुपर्ने अवस्था आएको छ। यसबाट यात्रुको समयसँगै आर्थिक भारसमेत बढेको छ।
निगमले १८ सिट क्षमताको ट्विनअटर जहाजमार्फत काठमाडौँ–गुल्मी र गुल्मी–काठमाडौँ उडान गर्दै आएको थियो। काठमाडौँबाट गुल्मीका लागि रु १० हजार ७१० तथा गुल्मीबाट काठमाडौँका लागि रु १० हजार ५१० हवाई भाडा निर्धारण गरिएको छ।
विमानस्थल सञ्चालनमा आएको तीन वर्षको अवधिमा दुईतर्फी गरी ३७८ वटा उडान भएका छन्। तर पछिल्लो समय इन्धनको मूल्य बढेसँगै यात्रुको सङ्ख्या पनि घट्दै गएको स्टेशन प्रमुख थापाले बताउनुभयो।
हवाई सेवा नियमित नहुँदा गुल्मीको पर्यटन प्रवर्द्धनमा समेत असर परेको नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेयले बताउनुभयो। उहाँका अनुसार सडकमार्गबाट गुल्मीबाट काठमाडौँ पुग्न १२ देखि १६ घण्टासम्म लाग्ने भए पनि हवाई मार्गबाट करिब ४५ देखि ५० मिनेटमै राजधानी पुग्न सकिन्छ।
हवाई सेवा नियमित भएमा बिरामी, वृद्धवृद्धा तथा अत्यावश्यक कामका लागि काठमाडौँ आवतजावत गर्ने नागरिकलाई ठूलो राहत पुग्ने अध्यक्ष पाण्डेयले बताउनुभयो।






