इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने

काठमाडौँ । इन्द्रजात्राका लागि इन्द्रध्वजोत्थान गर्न भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित नाला सामुदायिक वनबाट ल्याइएको इन्द्रध्वजको प्रतीक भोटाहिटीमा राखिएको छ ।

प्रत्येक वर्ष भाद्रपद शुक्ल द्वितीयाका दिन नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तोकेको साइतअनुसार वन यात्रा गरी इन्द्रजात्राको लिंगोका लागि रुख काट्ने परम्परा छ । सोही परम्पराअनुसार २८ भदौ आइतबार बिहान ९ः५३ बजे वनतर्फ गएको टोलीले नाला सामुदायिक वनबाट सल्लाको रुख काटेर भोटाहिटी ल्याएको हो ।

रुख काट्नुअघि वनमै तरबार, खड्ग तथा रुखको पूजा गरिएको थियो । समितिले तोकेको साइतअनुसार आइतबार राति ८ः४७ बजे रुख काटिएको हो । रुख काट्नुअघि बोकाको बलिसहित तान्त्रिक विधिबाट पूजा गर्ने परम्परा पनि रहेको छ ।

इन्द्रजात्रा र बिस्केट जात्राका लागि नाला सामुदायिक वनबाटै सल्लाको रुख ल्याउने गरिएको गुठी संस्थानका कर्मचारी रमेश काफ्लेले जानकारी दिए । उनका अनुसार इन्द्रजात्राको लिंगोका लागि रुख उपलब्ध गराउन सामुदायिक वनसँग सम्झौता गरिन्छ भने बिस्केट जात्राका लागि लिंगो काट्न बोलपत्र आह्वान गर्ने गरिएको छ ।

भोटाहिटीमा राखिएको इन्द्रध्वजको प्रतीकलाई आगामी ३ असोज शनिबार बिहान ८ः०५ बजेको साइतमा नगर प्रवेश गराइनेछ । भोटाहिटीबाट हनुमानढोका दरबार क्षेत्रसम्म इन्द्रध्वजको प्रतीक लैजाने प्रक्रियालाई ‘नगर प्रवेश’ भनिन्छ ।

गुठी संस्थानका प्रशासक शैलेशराज कुँवरका अनुसार नगर प्रवेशपछि इन्द्रध्वजको प्रतीकलाई विधिपूर्वक हनुमानढोका दरबार क्षेत्रमा लगिनेछ ।