रसुवा–भोटेकोशी–त्रिशूली विपद्का लागि संसदीय विशेष समिति गठनबारे दलहरूबीच छलफल

काठमाडौँ- रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा गएको विपद् तथा जलवायु परिवर्तनका विषयमा संसदीय विशेष समिति गठन गर्नेबारे संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच छलफल भइरहेको छ।

सिंहदरबारस्थित शिक्षा समितिको हलमा विभिन्न दलका संसदीय दलका नेता, उपनेता तथा प्रमुख सचेतक सहभागी छलफलमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि विशेष समिति गठन गर्ने विषयमा परामर्श भइरहेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार बुधबार सम्पन्न सर्वदलीय बैठकमा भएको छलफलका आधारमा विशेष समिति गठनका लागि आज प्रारम्भिक परामर्श सुरु गरिएको हो।

दलहरूबीच रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद्, त्यसबाट सिर्जित क्षति तथा जलवायु परिवर्तनसँग सम्बन्धित जोखिमलाई सम्बोधन गर्ने उद्देश्यले संसदीय विशेष समिति गठन गर्ने विषयमा आवश्यक छलफल भइरहेको छ।