काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ हुने भएको छ। मुद्दाको चाप बढ्दै गएपछि अदालतमा थप एक इजलास सञ्चालन गर्न लागिएको हो।
हाल अदालतमा तीन वटा इजलास सञ्चालनमा रहेकामा मुद्दाको चापलाई मध्यनजर गर्दै नयाँ इजलास कक्ष निर्माण भइरहेको श्रेस्तेदार उपसचिव सञ्जित गौतमले जानकारी दिए।
उनका अनुसार अदालतले हरेक वर्ष करिब तीन हजार ७०० थान मुद्दा हेर्नुपर्ने अवस्था छ। कार्यचाप घटाउँदै मुद्दा समयमै फर्छ्योट गर्ने, सेवाग्राहीलाई छिटो न्यायको अनुभूति गराउने तथा जिल्लाको भौगोलिक विकटतासहितका कारण न्यायाधीशको अभावलाई सम्बोधन गर्न सर्वोच्च अदालतले थप इजलास सञ्चालनका लागि अनुमति दिएको हो।
नयाँ इजलास यही सातादेखि सञ्चालनमा आउने गौतमले बताए। इजलास सञ्चालनका लागि आवश्यक जनशक्तिसमेत व्यवस्थापन गरिएको छ।
सर्वोच्च अदालत प्रशासनले नयाँ इजलासका लागि काठमाडौं जिल्ला अदालतमा कार्यरत न्यायाधीश दीपक घिमिरेलाई काभ्रे जिल्ला अदालतमा सरुवा गरेको छ।
चालु आर्थिक वर्षमा काभ्रे जिल्ला अदालतमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका एक हजार ५८६ थान मुद्दा छन्। इजलास र न्यायाधीशको सङ्ख्या बढेसँगै मुद्दाको सुनुवाइ तथा फर्छ्योट प्रक्रिया थप प्रभावकारी र छिटो हुने अपेक्षा गरिएको छ।






