प्रधानमन्त्री कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम झण्डै साढे १४ अर्ब रुपैयाँ पुगेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार बिहानसम्म विभिन्न नौवटा बैंकमा रहेको कोषको खातामा १० अर्ब ७९ करोड २६ लाख ६४ हजार ८९८ रुपैयाँ मौज्दात छ।

यस्तै, कोषका दुईवटा बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड ३९ लाख ३० हजार ७३१ अमेरिकी डलर जम्मा भएको छ। सबै खातामा रहेको रकमलाई नेपाली रुपैयाँमा हिसाब गर्दा कोषमा कुल १४ अर्ब ४५ करोड ९८ लाख १० हजार १७८ रुपैयाँ जम्मा भएको कार्यालयले जनाएको छ।

कोषमा जम्मा भएको रकममध्ये रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब रुपैयाँ निकासा भइसकेको छ।

यसैबीच, सरकारले रसुवाका बाढी प्रभावित परिवारलाई आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक रकम उपलब्ध गराउने निर्णय गरेको छ।

निर्णयअनुसार चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ उपलब्ध गराइनेछ। चार सदस्यभन्दा बढी भएमा थप प्रत्येक सदस्यका लागि २ हजार रुपैयाँका दरले अतिरिक्त रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ।