शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन मन्त्री पोखरेलको निर्देशन

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई प्रभावकारी, व्यवस्थित र नतिजामुखी बनाउन नवनियुक्त पदाधिकारीलाई निर्देशन दिएका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा शिक्षक सेवा आयोगका अध्यक्ष डा. हरिप्रसाद लम्सालसहित नवनियुक्त पदाधिकारीसँग भएको छलफलमा मन्त्री पोखरेलले शिक्षक भर्ना, बढुवा, पाठ्यक्रम सुधार तथा आयोगसम्बन्धी ऐन–नियमावलीलाई समयअनुकूल परिमार्जन गर्नुपर्नेमा जोड दिए।

उनले विद्यालयमा शिक्षक दरबन्दी मिलान, परीक्षा प्रणालीमा सुधार तथा परीक्षाफल समयमै प्रकाशन गर्ने विषयलाई प्राथमिकतामा राख्न आग्रह गरे।

मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै आगामी ऐनमा शिक्षक सेवा आयोगसँग सम्बन्धित विषयलाई समेत समेटिने विश्वास व्यक्त गरे।

हालै बसेको मन्त्रिपरिषद् बैठकले भक्तपुरका डा. लम्साललाई आयोगको अध्यक्ष तथा मकवानपुरका रामशरण सापकोटा र काठमाडौंका विष्णु घिमिरे रिमाललाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो।

छलफलका क्रममा आयोगका अध्यक्ष डा. लम्सालले आयोगलाई थप गतिशील र नतिजामुखी बनाउन काम सुरु गरिसकेको बताए। आयोगको प्रभावकारिता बढाउन तथा शिक्षक व्यवस्थापनमा सुधार ल्याउन नीतिगत र संरचनागत सुधार आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसतर्फ आयोगले पहल थालेको जानकारी दिए।

छलफलमा मन्त्रीको सचिवालयका प्रतिनिधि तथा मन्त्रालयका उच्च अधिकारीहरूको समेत सहभागिता थियो।