काठमाडौं । जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालको महिला भलिबल टोली १२औँ स्थानमा सीमित भएको छ । मङ्गोलियासँग सोझो सेटमा पराजित भएसँगै प्रतियोगितामा नेपालको यात्रा समाप्त भएको हो ।
जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा आज भएको खेलमा नेपाल मङ्गोलियासँग ३–० को सेटमा पराजित भयो । मङ्गोलियाले पहिलो सेट २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ अङ्कले आफ्नो पक्षमा पार्दै जित निकालेको हो ।
यससँगै नेपालले प्रतियोगितामा खेलेका पाँचमध्ये एक खेलमा जित र चार खेलमा हार बेहोरेको छ । समूह चरणमा नेपाल जापान र इन्डोनेसियासँग पराजित भएको थियो ।
त्यसपछि नवौँदेखि १४औँ स्थानका लागि भएका खेलमा नेपालले कजाकिस्तानलाई पराजित गर्दै एक जित निकालेको थियो । तर, हङकङसँगको खेलमा पराजित भएपछि नेपालले मङ्गोलियासँग प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा पनि हार बेहोरेपछि नेपाल १२औँ स्थानमा रहन पुगेको हो ।
यसअघि सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा नेपालले महिला भलिबलतर्फ ११औँ स्थान हासिल गरेको थियो । यसपटक भने नेपाल अघिल्लो संस्करणको तुलनामा एक स्थान तल रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।





