कात्तिक ४, काठमाडौं ।
अजÞरबैजान विरुद्धको युद्धमा हालसम्म सात सयभन्दा बढी आर्मीनियाका सैनिकको मृत्यु भइसकेको छ । समाचार संस्था बिबिसीले जनाए अनुसार यो संख्या बढ्दो क्रममा छ ।
सोमवार अर्मिनियाका १९ सैनिकको मृत्यु भएपछि मृतकको संख्या बढेर सात सय २९ पुगेको छ । अर्मिनियाको रक्षा मन्त्रालयले यस अघि यो संख्या अपुरो हुन सक्ने बताएको थियो । लगातार युद्ध भइरहेकाले मृतकको संख्या ढिला प्राप्त हुने गर्छन् ।
तर हालसम्म अजरबैजानले भने आफ्नै तर्फ भएको हताहती र क्षतिको विवरण सार्वजनिक गरेको छैन । राष्ट्रपति इलहाम एलियेवले एक अन्तरवार्तामा युद्ध समाप्त भएपछि मृतक सैनिकको संख्या उल्लेख गर्ने बताएका थिए ।
दुई देशको युद्धकाबीच इरानले आफ्नो क्षति नहोस् भनी चेतावनी दिएको छ । इरानले काराबाखका तर्फबाट आफ्नो धरतीमा एउटा पनि मिसाइल खसेमा यसको जवाफ दिने बताएको छ ।
इरानका विदेश मन्त्रालयका प्रवक्ता सइद खतिबजादेले भनेका छन्, ‘इरानको धरतीमा कुनै पनि किसिमको आक्रमण भयो भने, चाहे त्यो जानीजानी होस् वा गल्तीले, इरानले त्यसको उपयुक्त जवाफ दिनेछ ।’
युद्ध चर्किएको तीन सातामा दुवै देशका निकै संख्यामा सैनिक मारिएको आशंका गरिएको छ । (एजेन्सी)







