उजुरीकर्ता खोज्ने सुनुवाइ समितिको निर्णय

कात्तिक ४, काठमाडौं ।
सरकारले सिफारिस गरेका डा.युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध संघीय संसदको संसदीय सुनुवाई समितिमा उजुरी दिनेहरूलाई खोज्ने निर्णय भएको छ ।

उनीहरू विरुद्ध विभिन्न उजुरी परेका छन् । पूर्व अर्थमन्त्री खतिवडाविरुद्ध तीन वटा र पूर्वमुख्य सचिव रेग्मीविरुद्ध एउटा उजुरी परेको छ ।

अमेरिकाका लागि राजदूत सिफारिस भएका खतिवडामाथि क्यापिटल मर्चेन्ट बैंक लिमिटेडसँग जोडिएको अर्बौंको बैंकिङ काण्डमा संलग्न भएको र हजारौं मान्छेलाई पीडित बनाएको, जेलमा लगेर कोचेको उजुरीकर्ताको दाबी छ ।

उनी अवसरवादी भएको, औसतभन्दा कमजोर कार्यसम्पादन रहेको, अधिकारको दुरुपयोग गर्दै, क्षेत्रीय नातावादमा संलग्न, नीतिगत भ्रष्टाचार गर्दै आएको उजुरीमा उल्लेख छ । खतिवडाले चकलेट र विद्युतीय गाडीको आयात करमा निर्णय लिँदा भ्रष्टाचार गरेको उजुरीकर्ताको आरोप छ ।

खतिवडाको नाम प्रस्ताव गर्दा आम जनता असन्तुष्ट भएको, एनसेलबारे खतिवडाले राष्ट्रघात गरेको, अकुत सम्पति कमाएको जस्ता आरोप लगाइएको छ ।

बेलायतका लागि सिफारिस भएका रेग्मीविरुद्ध एउटा उजुरी परेको छ ।

जसमा रेग्मीले अर्थमन्त्रालयमा हुँदा कमाएको पैसा, गृहमन्त्री हुँदा उठाएको पैसा, मुख्य सचिव हुँदा नापीको मान्छेलाई भौतिक सचिव बनाएर कमाएको पैसा एकजना माधव भन्ने पीएमार्फत लुकाएर राखेको आरोप छ ।

रेग्मीलाई राजदूत बनाउन नहुने भन्दै उजुरी भनिएको छ, ‘निजामती सेवामा विभिन्न किसिमले टिका टिप्पणी हुँदा पनि निजामती सेवाको बारेमा प्रष्ट्याउने काम रेग्मीले गरेनन् ।’

दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत निर्मलकुमार विश्वकर्माविरुद्ध भने उजुरी परेको छैन । सरकारले तीनै जनालाई गत १५ असोजमा राजदूतमा सिफारिस गरेको थियो ।

तर उजुरीकर्ता नै बेपत्ता भएपछि संसदीय सुनुवाइ समितिले उनीहरूलाई खोज्ने निर्णय गरेको छ । खतिवडा र रेग्मीमाथि आरोप लाउने चार जनामध्ये एउटा उजुरी बेनामे रहेको र कुनै सम्पर्क नम्बर पनि नरहेको जनाइएको छ ।

बाँकी तीनवटामा नाम उल्लेख भए पनि सम्पर्क नम्बर नरहेको र सम्पर्क गर्न खोज्दा सम्पर्कमा नआएको संसदीय सुनुवाई समितिले जानकारी दिएको छ ।

सम्पर्कमा नआएको भन्दै सुनुवाई समितिको सोमबार बसेको समितिको बैठकले उजुरीकर्ता खोज्ने निर्णय गरेको हो ।