कात्तिक ४, काठमाडौं ।
तमोर मेवा जलविद्युत आयोजनाले निर्माण अनुमति पाएको छ । उक्त आयोजना निर्माणपछि एक सय २८ मेगावाट विद्युत उत्पादन हुनेछ ।
विद्युत विकास विभागले आयोजनालाई दुई वर्षभित्र वित्तीय व्यवस्थापन गरेर निर्माणमा जाने गरी निर्माण अनुमति दिएको हो । ताप्लेजुङको फुङलिङ नगरपालिकामा निर्माण हुने आयोजनाले १ वर्षभित्र पीपीए (उर्जा खरीद सम्झौता) र २ वर्षभित्र वित्तीय व्यवस्थापन गरेर निर्माणमा जाने लक्ष्य बनाएकोछ ।
आयोजनाको प्रवर्द्धक स्पार्क हाइड्रो इलेक्ट्रिसिटी कम्पनीका अध्यक्ष भनेन्द्रकुमार लिम्बुका अनुसार आयोजनमा २५ प्रतिशत पब्लिक र प्रमोटरको लगानी रहने छ भने ७५ प्रतिशत बैंक ऋण लगानी हुनेछ ।
वित्तीय व्यवस्थापनका लागि कुमारी बैंकले नेतृत्व गर्ने गरी नेपाली बैंकबाटै लगानी हुने पनि उनले स्पष्ट पारे । २६ अर्ब १२ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा कुमारी बैंकको नेतृत्वमा करिब २० अर्ब रुपैयाँ ऋण लगानी हुने सहमति अन्तिम चरणमा रहेको लिम्बुले बताए ।
पीपीएका लागि ग्रिड कनेक्सन एग्रिमेन्ट गरिसकेको आयोजनाले २०७८ भित्र निर्माण सुरु गरेर २०८३ सम्ममा निर्माण सक्ने लक्ष्य लिएको छ ।
नदि प्रवाहमा आधारित आयोजना भएकाले सरकारले ’टेक अर पे’ मा पीपीए नगरे अर्धजलाशययुक्त आयोजनाको रुपमा विकास गर्न पनि सकिने लिम्बुको भनाई छ । आयोजनाबाट वार्षिक रुपमा सात सय १९ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ ।
कूल ऊर्जाको ७० प्रतिशत वर्षायाममा र ३० प्रतिशत सुख्खायाममा उत्पादन हुने छ ।
आयोजनामा मेवा खोलाको पानीलाई मेवा किनारको माटे भन्ने ठाउँबाट अढाइ किलोमिटर लामो सुरुङबाट तमोर नदिको भन्ज्याङ भन्ने ठाउँमा खसाइनेछ ।
भन्ज्याङभन्दा तल नाङ्गो भन्ने ठाउँबाट ४७ सय मिटर लामो सुरुङमार्ग हुँदै एक सय १६ मिटरको हेडबाट गुहेली भन्ने ठाउँमा पानी खसाएर एक सय २८ मेगावाट विद्युत उत्पादन गरिने योजना छ ।
आयोजनाको भूमिगत विद्युतगृहमा ४२.६ मेगावाटका ३ वटा टर्बाइन राखेर विद्युत उत्पादन गरिने बताइएको छ ।







