काठमाडौँ – मौसमविद् राजन लामिछानेले आगामी दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि थप बढ्ने बताएका छन्। बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भूभागमा वर्षा भइरहेको उनले जानकारी दिए।
नेपाल मौसम विज्ञान विभागका मौसमविद् लामिछानेका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी तथा केही क्षेत्रमा धेरै भारी वर्षा भएको छ। पाल्पाको अर्चले मौसम मापन केन्द्रमा १४० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको उनले बताए।
पछिल्ला दुई दिनदेखि विभिन्न क्षेत्रमा निरन्तर वर्षा भइरहेको र कतिपय स्थानमा भारीदेखि धेरै भारी वर्षा भएकाले बाढी तथा पहिरोको जोखिम बढेको उनको भनाइ छ।
लामिछानेका अनुसार हाल न्यून चापीय प्रणाली भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा रहेको छ। उक्त प्रणाली क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमी भूभागतर्फ बढ्ने सम्भावना रहेको छ।
उनले आज र भोलि विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि बढी हुने तथा पूर्वी क्षेत्रमा भने वर्षाको गतिविधि क्रमशः घट्दै जाने र मौसममा सुधार आउने सम्भावना रहेको बताए।
विभागका अनुसार असोज १० गते शनिबारसम्म न्यून चापीय प्रणालीको प्रभाव पश्चिमतर्फ सर्दै जानेछ। यस अवधिमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका क्षेत्रमा वर्षाको गतिविधि थप बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
त्यस्तै, असोज ११ गते आइतबार पूर्वी क्षेत्रमा मौसममा सुधार आउने सम्भावना रहे पनि पश्चिमी क्षेत्रमा प्रणालीको प्रभाव कायम रहनेछ। असोज १२ गतेदेखि देशभर मौसम क्रमशः सुधार हुँदै जाने र असोज १३ गतेदेखि वर्षाको प्रभाव अझ कम हुने सम्भावना रहेको विभागले जनाएको छ।
मौसम प्रणालीमा निरन्तर परिवर्तन हुनसक्ने भएकाले विभागले अवस्थाको निगरानी गरिरहेको लामिछानेले बताए। आवश्यकताअनुसार मौसम पूर्वानुमान तथा चेतावनी अद्यावधिक गर्दै जाने उनले जानकारी दिए।
भारी वर्षा भइरहेका तथा चेतावनी जारी गरिएका क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम रहेकाले अनावश्यक यात्रा नगर्न तथा आवश्यक सतर्कता अपनाउन उनले सर्वसाधारणलाई आग्रह गरेका छन्।






