चोरीको आरोपमा दुई प्रहरी नियन्त्रणमा

कात्तिक ४, कास्की ।
कास्की प्रहरीले माछापुच्छ्रे गाउँपालिका–४ मा गत असोज २४ गते भएको चोरीको घटनामा सङ्लग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

लाहाचोकस्थित तुलसी अधिकारीको शारदा एण्ड सरोज किराना पसलबाट रिचार्ज कार्ड, नगद एक लाख ३० हजार, औँठीलगायतका सामान चोरी गरी फरार रहेको भन्ने सूचनाका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तनहुँ रिसिङ गाउँपालिका–२ घर भई हाल पोखरा महानगरपालिका–८ न्यूरोड बस्ने ३० वर्षीय मधु थापा र लाहाचोककै ३८ वर्षीय सूर्यबहादुर घर्ती छन् । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका वडा प्रहरी कार्यालय बगरबाट प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा उनीहरुलाई थापाको पोखरा–८ न्यूरोडस्थित आफ्नै डेरा कोठाबाट चोरी भएको सामानसहित नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरुको साथ ७७ हजार दुई सय ९० रूपैयाँ बरामद गरेको र चोरी तथा डाँकासम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको जनाएको छ । (रासस)