चितवन – बिहीबारदेखि लगातार भइरहेको वर्षाका कारण चितवनका सातै स्थानीय तहले आज एक दिनका लागि विद्यालय बन्द गरेका छन्।
जिल्लाका सात पालिकाअन्तर्गत सञ्चालित ४९७ वटा विद्यालय वर्षाका कारण बन्द गरिएका हुन्।
शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख कृष्णचन्द्र पोखरेलका अनुसार जिल्लाका सबै स्थानीय तहले प्रतिकूल मौसमलाई ध्यानमा राख्दै शुक्रबार एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।
लगातारको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा सडक तथा यातायात प्रभावित हुनुका साथै जोखिम बढेपछि विद्यालय बन्द गरिएको हो।






