देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काँग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश संघीय निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रमा आज क्षेत्रीय अधिवेशन हुँदैछ। भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशनको मिति सारिए पनि अधिकांश स्थानमा पूर्वनिर्धारित कार्यतालिकाअनुसार अधिवेशन हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

पछिल्ला दुई दिनको भारी वर्षा तथा आज र भोलि पनि वर्षा हुने मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै निर्वाचन समितिले असोज १३ गतेभित्र अनुकूल समयमा अधिवेशन सम्पन्न गर्न सकिने विकल्प दिएको थियो। सोहीअनुसार विशेषगरी पहाडी जिल्लाका वर्षा प्रभावित र सडक अवरुद्ध भएका केही निर्वाचन क्षेत्रमा आइतबार र सोमबार अधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिएको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।

मौसममा सुधार देखिन थालेकाले अधिकांश स्थानमा आजै तथा बाँकी निर्वाचन क्षेत्रमा सोमबार र मंगलबारसम्म अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको उनले बताए। क्षेत्रीय अधिवेशनका लागि अहिलेसम्म ठूलो समस्या नदेखिएको र सहज रूपमा अधिवेशन सम्पन्न हुने वातावरण बनेको उनको भनाइ छ।

संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति, संघीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुनेछन्। पालिका सभापति र प्रदेशसभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति भने सम्बन्धित संघीय तथा प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिका पदेन सदस्य तथा स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन्। उनीहरूलाई मतदानको अधिकार भए पनि उम्मेदवार बन्ने अधिकार नहुने कांग्रेस विधानमा व्यवस्था रहेको कटुवालले बताए।

संघीय निर्वाचन क्षेत्रीय कार्यसमितिमा सभापति र सचिव एक/एक जना निर्वाचित हुनेछन्। सहसचिवमा एक महिलासहित दुई जना निर्वाचित हुनेछन् भने कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने व्यवस्था छ। कार्यसमितिमा उपसभापतिको व्यवस्था गरिएको छैन।

कार्यसमिति सदस्यतर्फ १८ जना निर्वाचित हुनेछन्। प्रदेशसभा क्षेत्र ‘क’ र ‘ख’ बाट एक महिला र दुई खुलासहित तीन/तीन जना गरी छ जना, खुलातर्फ एक महिलासहित चार जना, युवातर्फ एक महिलासहित दुई जना तथा जनसङ्ख्याका आधारमा समानुपातिकतर्फ छ जना निर्वाचित हुने व्यवस्था छ। थप छ जनालाई क्षेत्रीय कार्यसमिति सदस्यका रूपमा मनोनयन गर्न सकिनेछ।

क्षेत्रीय अधिवेशनबाट संघीय महाधिवेशन प्रतिनिधिका रूपमा महिला चार, खुला १०, एक महिलासहित तीन युवा तथा जनसङ्ख्याका आधारमा समानुपातिकतर्फ १० जना निर्वाचित हुनेछन्। साथै श्रमिक, पेसागत विज्ञ, अपाङ्गता भएका व्यक्ति, मुस्लिमसहित अल्पसङ्ख्यक, दलित तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडितमध्येबाट एक/एक जना चयन हुने व्यवस्था छ। यसरी प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन्।

त्यस्तै, महासमिति सदस्यका रूपमा प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट दुई महिला, पाँच खुला, ३५ वर्षमुनिका एक युवा र जनसङ्ख्याका आधारमा समानुपातिकतर्फ चार गरी १२ जना चयन हुनेछन्।

आजै हुने प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट ‘क’ र ‘ख’ दुवै क्षेत्रका प्रदेशसभा क्षेत्रीय कार्यसमिति तथा प्रदेश अधिवेशनका लागि प्रदेश प्रतिनिधि चयन गरिनेछ।

प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा सभापति, उपसभापति र सचिव एक/एक जना निर्वाचित हुनेछन् भने सहसचिवमा एक महिलासहित दुई जना चयन हुनेछन्। कोषाध्यक्ष भने कार्यसमिति सदस्यहरूमध्येबाट सभापतिको प्रस्तावमा मनोनयन गरिनेछ।

कार्यसमिति सदस्यतर्फ दुई महिला, एक दलित, एक युवा, तीन खुला र जनसङ्ख्याका आधारमा समानुपातिकतर्फ छ जना निर्वाचित हुनेछन्। थप सात जनालाई कार्यसमितिमा मनोनयन गर्न सकिने व्यवस्था छ।

प्रदेश प्रतिनिधिमा दुई महिला, आठ खुला, एक महिलासहित दुई युवा तथा जनसङ्ख्याका आधारमा समानुपातिकतर्फ छ जना चयन हुनेछन्। पेसागत विज्ञ, श्रमिक, अपाङ्गता भएका व्यक्ति, अल्पसङ्ख्यक, दलित तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडितमध्येबाट पनि एक/एक जना प्रदेश प्रतिनिधि चयन गर्न सकिने व्यवस्था छ।

कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको हो। वडा र पालिका अधिवेशन सम्पन्न भइसकेका छन्। क्षेत्रीय अधिवेशनपछि कांग्रेसको केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौँको खुलामञ्चमा गर्ने तयारी भइरहेको छ।