सिमिकोटमा ४८ वर्षयताकै ‘रेकर्ड ब्रेक’ वर्षा

काठमाडौं । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमिकोटमा ४८ वर्षयताकै उच्च वर्षा मापन भएको छ। पछिल्लो २४ घण्टामा भएको वर्षाले सिमिकोटमा यसअघि कायम रहेको उच्च वर्षाको रेकर्ड तोडेको हो।

मौसम तथा जलवायु विज्ञान कार्यालय, सुर्खेतकी प्रमुख डा. इन्दिरा कडेलका अनुसार असोज ९ गते बिहान ८:४५ बजेदेखि असोज १० गते बिहान ८:४५ बजेसम्म सिमिकोटमा ११४.८ मिलिमिटर वर्षा मापन भएको छ।

कार्यालयका अनुसार सन् १९७८ जुन १ देखि सन् २०२६ सेप्टेम्बर २६ सम्मको तथ्यांकमा यो सिमिकोटको २४ घण्टे अवधिको सबैभन्दा बढी वर्षा हो।

यसअघि सिमिकोटमा २०२१ अक्टोबर १९ मा ११० मिलिमिटर वर्षा भएको थियो। उक्त वर्षालाई २४ घण्टे अवधिको उच्च वर्षाको रेकर्डका रूपमा लिइएको थियो। नयाँ वर्षासँगै उक्त रेकर्डसमेत तोडिएको हो।

डा. कडेलले सिमिकोटमा यसपटक २४ घण्टाको वर्षाले पुरानो सबैभन्दा उच्च रेकर्ड तोडिएको बताइन्।

समुद्री सतहबाट २ हजार ९९३ मिटर उचाइमा रहेको सिमिकोटमा यसअघि पनि ९० मिलिमिटरभन्दा बढी वर्षा भएका दिनहरू अभिलेखमा छन्। सन् २०१५ जनवरी ३ मा ९८ मिलिमिटर, सन् २००० जुन ९ मा ९२.८ मिलिमिटर, सन् २००० जुन ८ मा ९०.४ मिलिमिटर र सन् २०१७ मे ३ मा ८४ मिलिमिटर वर्षा भएको थियो।

४८ वर्षको दीर्घकालीन अभिलेखअनुसार सिमिकोटमा २४ घण्टामा १०० मिलिमिटरभन्दा बढी वर्षा दुई दिन, ७५ मिलिमिटरभन्दा बढी वर्षा सात दिन र ५० मिलिमिटरभन्दा बढी वर्षा १३ दिन भएको छ।

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण पछिल्ला तीन दिनदेखि देशका उच्च हिमाली क्षेत्रमा हिमपात तथा पहाडी र तराईका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ।