नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन, ११ असोजः अविरल वर्षाका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ। नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएपछि सडकमा सवारीसाधन सञ्चालनमा आएका हुन्।

सडक डिभिजन कार्यालय चितवनका अनुसार बिहान ७ः५५ बजे नाम्सीखोलामा लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो। कार्यालयका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यका अनुसार पहिरो हटाएपछि दिउँसो १२ः१५ बजे सडक सञ्चालनमा आएको हो।

सडक खुलेसँगै पोखराबाट नारायणगढतर्फ आउने तथा नारायणगढबाट पोखरातर्फ जाने यात्रुवाहक र ढुवानीका सवारीसाधन गन्तव्यतर्फ आवतजावत गरिरहेका छन्।

यसैबीच, लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकखण्डका विभिन्न ११ स्थानमा पहिरो खसेर यातायात प्रभावित भएको छ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्डका सूचना अधिकारी इञ्जिनियर सचिन्द्र मिश्रका अनुसार शीलतबजारमा लेदो र रुखसहितको पहिरो खसेको छ भने सडकको छेउसमेत भासिएको छ। बेनिघाट बजारनजिक गोमती खोलामा लेदोसहितको पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा छ। कृष्णभीरमा माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ।

ज्यामिरेघाट–चौकीभीर क्षेत्रमा ढुङ्गा र लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ। हुग्दी खोलादेखि जवाङखोलासम्मको क्षेत्रमा ठाउँ–ठाउँमा ढुङ्गासहितका साना पहिरो खसेका छन्।

फिस्लिङ आसपासका तीन स्थानमा करिब २०० मिटर सडकमा ढुङ्गा, लेदो र रुखसहितको पहिरो खसेको छ। त्यहाँ करिब ३० मिटर सडकको आधा भाग चर्किएको छ। चुम्लिङटारमा पनि ढुङ्गासहितको पहिरो खसेको छ।

धारापानीका दुई स्थानमा गरी करिब ५० मिटर सडकको आधा भाग भत्किएको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो। सोही क्षेत्रमा कल्भर्ट खुलाउने काम भइरहेको छ।

घोप्टेभीर र सिमलधारामा ठूला ढुङ्गा तथा लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। अहिले सबै प्रभावित स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ।

इञ्जिनियर मिश्रका अनुसार थप ठूलो पहिरो नखसेमा साँझसम्म अधिकांश स्थानमा पहिरो हटाएर सवारीसाधन सञ्चालनमा ल्याउने तयारी छ। पहिरो पन्छाउन सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका उपकरणसमेत परिचालन गरिएको छ।