न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम अस्वीकार गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः बढेको छ। तेलको मूल्य वृद्धिसँगै विश्वव्यापी मुद्रास्फीति थप चर्किन सक्ने चिन्ता बढेको छ भने यसको असर एसियाली सेयर बजारमा समेत परेको छ।
इरानले गत साता संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा सातदिने युद्धविरामको प्रस्ताव अघि सारेको थियो। युद्धविराम कार्यान्वयन भए रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य खुल्ने र विश्वव्यापी ऊर्जा आपूर्तिमा देखिएको दबाब केही कम हुने अपेक्षा गरिएको थियो।
अमेरिका र इरानबीचको सैन्य तथा कूटनीतिक तनावका कारण होर्मुज जलडमरूमध्य अहिले विश्व ऊर्जा बजारको प्रमुख चासोको विषय बनेको छ। विश्वको महत्वपूर्ण ऊर्जा आपूर्ति मार्गमध्ये एक मानिने यस जलडमरूमध्यबाट ठूलो परिमाणमा तेल तथा अन्य ऊर्जा सामग्री ओसारपसार हुने गर्छ।
तर, ह्वाइट हाउस बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको सातदिने युद्धविराम प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन्। यद्यपि, उनले अमेरिका र इरानबीच कूटनीतिक वार्ता पुनः सुरु हुन सक्ने संकेत गरेका छन्।
अमेरिकी सञ्चारमाध्यमका अनुसार दुई देशबीच अप्रत्यक्ष वार्ता सोमबारदेखि नै पुनः सुरु हुन सक्ने सम्भावना छ।
होर्मुज जलडमरूमध्य खुलाउन इरानले केही प्रमुख सर्तसमेत अघि सारेको छ। विदेशमा रोक्का गरिएका इरानी वित्तीय सम्पत्ति फुकुवा गर्नुपर्ने, इरानी तेल निर्यातमाथिका प्रतिबन्ध हटाउनुपर्ने र अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने उसका माग छन्।
युद्धविरामको प्रस्ताव सार्वजनिक भएपछि गत शुक्रबार दुई प्रतिशतभन्दा बढीले घटेको कच्चा तेलको मूल्य सोमबार बजार खुलेसँगै पुनः उकालो लागेको हो।
अन्तर्राष्ट्रिय बजारमा उत्तर समुद्री ब्रेन्ट कच्चा तेलको मूल्य १.८ प्रतिशतले बढेर प्रतिब्यारेल १०६.१९ अमेरिकी डलर पुगेको छ। अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) कच्चा तेलको मूल्य पनि एक प्रतिशतले बढेर प्रतिब्यारेल ९३.३४ डलर पुगेको छ।
तेलको मूल्य बढेसँगै विश्वव्यापी रूपमा मुद्रास्फीति थप बढ्न सक्ने चिन्ता देखिएको छ। त्यसको प्रभाव एसियाली सेयर बजारमा समेत परेको छ। लामो सार्वजनिक बिदापछि सोमबार खुलेको दक्षिण कोरियाली सेयर बजार दुई प्रतिशतभन्दा बढीले घटेको छ।
त्यस्तै, जापानको टोकियो, चीनको सांघाई, फिलिपिन्सको मनिला, थाइल्यान्डको बैंकक र इन्डोनेसियाको जकार्ताका सेयर बजारमा पनि गिरावट आएको छ।
यद्यपि, हङकङ, अस्ट्रेलियाको सिड्नी, सिङ्गापुर र न्युजिल्यान्डको वेलिङ्टनका सेयर बजारमा भने केही सुधार देखिएको छ।
यसैबीच, विश्वव्यापी ऋणपत्र बजारमा पनि प्रतिफल (यिल्ड) बढेको छ। गत साता विश्व ऋणपत्रको औसत प्रतिफल चार प्रतिशतभन्दा माथि पुगेको थियो, जुन सन् २००७ यताकै उच्च स्तर भएको बताइएको छ।
अब लगानीकर्ताको ध्यान अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भको आगामी मौद्रिक नीति निर्णयतर्फ केन्द्रित भएको छ। अक्टोबरको अन्त्यमा हुने बैठकअघि यसै साता अमेरिकाको मुद्रास्फीति र रोजगारीसम्बन्धी महत्त्वपूर्ण तथ्यांक सार्वजनिक हुँदै छन्। ती तथ्यांकले आगामी ब्याजदर नीतिमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।
आर्थिक विश्लेषकहरूका अनुसार मध्यपूर्वमा राजनीतिक तथा सैन्य तनाव बढेसँगै तेलको मूल्यमा आएको वृद्धिले एसियाली सेयर बजारमा दबाब सिर्जना गरेको हो। तर, अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ता पुनः सुरु हुन सक्ने सम्भावनाले विश्व बजारमा केही आशा भने कायम राखेको छ।






