लमजुङ । अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङ पुगेका विदेशी पर्यटक प्रतिकूल मौसम र निरन्तरको वर्षाका कारण यात्रा छोट्याएर लमजुङतर्फ फर्किन थालेका छन्।
थोराङ्ला भञ्ज्याङ पार गर्दै मुस्ताङ, पोखरालगायत गन्तव्यमा पुग्ने योजनासहित अन्नपूर्ण चक्रीय पदमार्गमा आएका पर्यटक मौसम बिग्रिएपछि मनाङबाटै फर्किन थालेका हुन्। निरन्तरको वर्षाका कारण पदमार्गमा जोखिम बढ्नुका साथै उच्च क्षेत्रमा मौसम थप प्रतिकूल बनेपछि पर्यटकले आफ्नो यात्रा स्थगित गर्न थालेका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) धारापानीका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार असोज ६ देखि १२ गतेसम्म एक साताको अवधिमा २४६ जना विदेशी पर्यटक मनाङबाट लमजुङतर्फ फर्किएका छन्। फर्किने पर्यटकमध्ये १५१ जना पुरुष र ९५ जना महिला रहेको उनले जानकारी दिए।
गुरुङका अनुसार केही दिनअघिसम्म धारापानी हुँदै दैनिक १०० देखि १५० जनासम्म विदेशी पर्यटक मनाङतर्फ जाने गरेका थिए। तर पछिल्लो समय लगातारको वर्षासँगै मौसम प्रतिकूल बनेपछि पर्यटकको आवागमनमा उल्लेख्य कमी आएको छ। अहिले दैनिक एक–दुई जना पर्यटक मात्रै मनाङतर्फ जाने गरेको र अधिकांश पर्यटक फर्किन थालेको उनले बताए।
“केही दिनअघिसम्म दैनिकजसो १०० देखि १५० सम्म पर्यटक मनाङतर्फ जाने गरेका थिए। अहिले एक–दुई जना मात्रै मनाङतर्फ गएको देखिन्छ, अधिकांश फर्किन थालेका छन्”, इन्चार्ज गुरुङले भने।
विशेषगरी थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङलगायतका गन्तव्यतर्फ जाने योजनामा रहेका पर्यटकले मौसममा आएको खराबी र पदमार्गमा बढेको जोखिमलाई ध्यानमा राख्दै बीच बाटोमै यात्रा छोट्याएका हुन्। वर्षाका कारण कतिपय स्थानमा पदमार्ग चिप्लो र जोखिमपूर्ण बनेकाले पर्यटक तथा स्थानीयले थप सतर्कता अपनाउनुपर्ने अवस्था रहेको छ।
लमजुङको बेँसीसहर नगरपालिका–७ बाट सुरु हुने अन्नपूर्ण चक्रीय पदमार्ग लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की हुँदै अघि बढ्ने नेपालको प्रमुख पदयात्रा मार्गमध्ये एक हो। यस पदमार्गको सबैभन्दा अग्लो बिन्दु समुद्री सतहबाट पाँच हजार ४१६ मिटर उचाइमा रहेको थोराङ्ला भञ्ज्याङ हो।
प्राकृतिक सौन्दर्यसँगै हिमाली भूगोल, स्थानीय संस्कृति र विविधताका कारण अन्नपूर्ण चक्रीय पदमार्ग विदेशी पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा रहँदै आएको छ। तर पछिल्लो समयको निरन्तर वर्षा र प्रतिकूल मौसमले पदयात्रा प्रभावित भएपछि पर्यटकको आवागमनमा कमी आएको हो।






