बागलुङ पहिरो अपडेट : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ । बागलुङमा पछिल्लो तीन दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । जिल्लाका विभिन्न स्थानमा पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घटनामा एक जना अझै बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु, म्याग्दीको मालिका गाउँपालिका–२ निवासी ७९ वर्षीया नरमाया रोका रहेका छन् ।

प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईँका अनुसार पहिरोले घर पुरिँदा पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको प्रहरीले जनाएको छ ।

अविरल वर्षापछि जिल्लाका विभिन्न स्थानमा बाढी तथा पहिरोका घटना बढेका छन् । पछिल्लो तीन दिनमा भएका विपद्जन्य घटनामा परी बागलुङमा १२ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

यसअघि शनिबार ताराखोला गाउँपालिकामै एक जनाको मृत्यु भएको थियो । आइतबार तमानखोला गाउँपालिकामा पहिरोमा परी चार जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका छन् । सोही दिन निसीखोला गाउँपालिकामा पनि पहिरोका कारण पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लगातारको वर्षाका कारण जिल्लाका विभिन्न ग्रामीण सडक तथा बस्तीमा पहिरोको जोखिम बढेको छ । प्रहरीले जोखिमयुक्त क्षेत्रमा सतर्क रहन तथा सम्भावित बाढीपहिरोबाट सुरक्षित स्थानमा जान स्थानीयवासीलाई आग्रह गरेको छ ।