यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय सार्वजनिक गरिएको छ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।

उनका अनुसार मन्त्रिपरिषद् बैठकले विभिन्न विषयमा ६ वटा महत्वपूर्ण निर्णय गरेको छ। बैठकका निर्णयहरू प्रवक्ता पोखरेलले सञ्चारकर्मीसामु जानकारी गराएका हुन्।

मन्त्रिपरिषद्का ६ मुख्य निर्णय :

  1. स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने।
  2. विभिन्न सडक, जलविद्युत् आयोजना तथा सशस्त्र प्रहरीका संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिने।
  3. पशु, बधशाला र मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति दिने।
  4. संघीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेश गर्न स्वीकृति दिने।
  5. अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति दिने।
  6. दुई सहसचिवलाई विशिष्ट श्रेणीमा बढुवा गरी क्रमशः गण्डकी प्रदेशको प्रमुख सचिव र ऊर्जा मन्त्रालयको सचिवमा पदस्थापन गर्ने।