काठमाडौं– सरकारले मुलुकमा एलपीजी (खाना पकाउने) ग्यासको आपूर्ति सहज बनाउन सुरक्षा निकायका आउटलेटबाट समेत ग्यास बिक्री वितरण गर्ने तयारी गरेको छ।
राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक कार्यक्रममा उद्योग सचिव रुद्रसिंह तामाङले यस्तो जानकारी दिएका हुन्।
उनका अनुसार ग्यासको आपूर्ति तथा वितरणमा कठिनाइ उत्पन्न भएको अवस्थामा सुरक्षा निकायका आउटलेटमार्फत बिक्री वितरण गर्न सके उपभोक्तालाई सहज हुने भएकाले आवश्यक कानुनी तथा प्राविधिक व्यवस्था मिलाउन लागिएको हो।
“अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायतका सुरक्षा निकायले पेट्रोल पम्पमार्फत पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै आएका छन्,” सचिव तामाङले भने, “ती आउटलेटबाटै ग्यासको समेत बिक्री वितरण गर्न सके उपभोक्तालाई धेरै सहज हुनेछ।”
उनले पेट्रोलियम पदार्थ बिक्री भइरहेका सुरक्षा निकायका आउटलेटमा ग्यासका लागि एक–दुईवटा डिपो वा काउन्टर थप गर्ने व्यवस्था मिलाउन सकिने बताए।
ग्यासको सम्भावित अभाव तथा आपूर्ति असहज हुने अवस्थालाई ध्यानमा राखेर आपत्कालीन समयमा समेत आपूर्ति व्यवस्थापन सहज बनाउन यस्तो तयारी अघि बढाइएको मन्त्रालयले जनाएको छ।






