गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड

काठमाडौं– नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी नेतृत्वमा निरन्तरताको ‘क्रमभंग’ गर्दै नयाँ इतिहास निर्माणतर्फ अघि बढेको बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले थापालाई नयाँ नेतृत्वका लागि बधाई दिँदै उनीसँग देशको नेतृत्व गर्ने क्षमता रहेको बताए।

आफू प्रधानमन्त्री हुँदा थापा स्वास्थ्यमन्त्री रहेको स्मरण गर्दै प्रचण्डले त्यतिबेलै थापामा नेतृत्व क्षमता देखेको उल्लेख गरे।

‘गगनजीलाई बधाई छ। गगनजीमा नेतृत्व गर्ने क्षमता छ। अन्ततः यो देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भनेको थिएँ। आज त्यही देखिरहेको छु।’

विषम राजनीतिक परिस्थितिका बीच थापा कांग्रेसको नेतृत्वमा आउनु आफैंमा महत्वपूर्ण ‘क्रमभंग’ भएको प्रचण्डको भनाइ थियो। उनले पार्टीभित्र रहेका सबै नेता तथा समूहलाई समेटेर अघि बढ्न थापालाई आग्रह गरे।

कांग्रेसलाई थप एकताबद्ध बनाउँदै नयाँ नेतृत्वले सबै पक्षलाई समेट्नुपर्नेमा जोड दिँदै प्रचण्डले थापा अब पार्टीको नेतृत्वमा मात्र सीमित नरही देशकै नेतृत्व गर्ने दिशामा अघि बढ्नुपर्ने बताए।

‘अहिले तपाईं देशको नेतृत्व गर्ने बाटोमा हिँड्नु होला, हामी साथ दिन तयार छौँ।’

प्रचण्डले गणतन्त्र र लोकतन्त्रमाथि जोखिम उत्पन्न हुन सक्ने अवस्था रहेको भन्दै प्रमुख राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताए। लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न दलहरू एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

शान्ति सम्झौताका केही विषय अझै टुंगिन बाँकी रहेको उल्लेख गर्दै उनले त्यसलाई समयमै निष्कर्षमा पुर्‍याउनुपर्ने बताए। शान्ति प्रक्रियाका बाँकी काम पूरा हुन नसके मुलुक पुनः द्वन्द्वतर्फ जान सक्ने जोखिम रहेको उनको चेतावनी थियो।

‘शान्ति सम्झौताका केही चिज अझै टुंग्याउन बाँकी छ। यो टुंगिएन भने देश फेरि अर्को द्वन्द्वमा जान सक्छ। यो पनि गगन थापाले पूरा गर्नुपर्ने छ।’

मुलुकको समृद्धि र विकासका लागि सबै राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्ने बताउँदै प्रचण्डले कांग्रेसको नयाँ नेतृत्वले देशलाई समृद्धिको दिशामा अघि बढाउने विश्वास व्यक्त गरे।