ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आगामी शृंखला खेल्न ओमान जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले बिदाइ गरेको छ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा क्यानले कप्तान सन्दीप लामिछानेको नेतृत्वमा रहेको नेपाली टोलीलाई बिदाइ गरेको हो। क्यानले यसअघि नै ओमान शृंखलाका लागि टोली घोषणा गरिसकेको थियो।

नेपालका लागि यो लिग–२ को अन्तिम शृंखला हो। लिग–२ को समाप्तिपछि अंकतालिकाको शीर्ष चारमा रहने टोली सन् २०२७ को एकदिवसीय विश्वकपको छनोट चरणमा सिधै प्रवेश गर्नेछन्। अन्तिम चार स्थानमा रहने टोलीले भने विश्वकप क्वालिफायरमा पुग्न प्ले–अफ खेल्नुपर्नेछ।

सन् २०१८ मा प्राप्त एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नसमेत नेपालका लागि ओमान शृंखला महत्वपूर्ण रहेको छ।

बिदाइ कार्यक्रममा कप्तान सन्दीप लामिछानेले प्रिमियर कप र ओमानमै विगतमा गरेको प्रदर्शनले टोलीमा सकारात्मक मनोवैज्ञानिक ऊर्जा थपिएको बताए। उनले एकदिवसीय मान्यता जोगाउँदै टोलीलाई विश्वकप छनोटसम्म पुर्‍याउने लक्ष्यसहित राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे।

मुख्य प्रशिक्षक स्टुअर्ट लले पनि विगतका सकारात्मक नतिजाले टोलीको मनोबल र आत्मविश्वास उच्च रहेको बताए। क्यानडा र ओमान अंकतालिकामा नेपालभन्दा माथि रहेकाले उनीहरूविरुद्ध स्पष्ट रणनीति बनाएर मैदान उत्रिनुपर्ने उनको भनाइ थियो।

लिग–२ को अंकतालिकामा ३६ खेलबाट ४५ अंक जोडेको स्कटल्यान्ड शीर्ष स्थानमा छ। ३२ खेलबाट ४३ अंकसहित अमेरिका दोस्रो र समान खेलबाट ३८ अंकसहित नेदरल्यान्ड्स तेस्रो स्थानमा छन्।

नेपालले हालसम्म ३२ खेलबाट २४ अंक जोडेको छ। नेपाल अंकतालिकाको सातौँ स्थानमा रहेको छ।