चितवन । अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लेयर्स कुखुरापालक सङ्घले यस वर्षको ‘विश्व अण्डा दिवस’ साताव्यापी रूपमा विविध कार्यक्रम गरी मनाइरहेको छ ।
यस वर्ष दिवसको अन्तर्राष्ट्रिय नारा ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ तय गरिएको छ ।
सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार सन् १९९६ मा अस्ट्रियाको भियनाबाट सुरु भएको विश्व अण्डा दिवसले यस वर्ष ३० वर्ष पूरा गर्दैछ। हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार मनाइने यो दिवस यस वर्ष असोज २३ गते (अक्टोबर ९) परेको छ ।
दिवसको पूर्वसन्ध्यामा गत सातादेखि नै देशभरका विभिन्न विद्यालयहरूमा भेटेरिनरी चिकित्सक तथा स्वास्थ्यकर्मीहरू परिचालन गरी विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई अण्डाको पोषण, स्वास्थ्यमा यसको भूमिका र सन्तुलित आहारबारे चेतनामूलक जानकारी गराइँदै आइएको छ ।
सङ्घको मुख्य आयोजनामा असोज २३ गते विशेष कार्यक्रम आयोजना गरिँदैछ । सो दिन बिहान ७:०० बजे उद्योग सङ्घ चितवनको परिसरबाट विशाल ‘एग वाक’ प्रभातफेरी सुरु भई नारायणगढको सहिद चोकमा पुगेर समापन हुनेछ।
सोही दिन आयोजना गरिने प्यानल डिस्कसन (अन्तरक्रिया) मा अण्डा उत्पादन, स्वास्थ्य, पोषण, बजार तथा नेपाली समाजमा यसको आर्थिक-सामाजिक भूमिकाबारे विज्ञहरूबिच गहन मन्थन हुनेछ ।
फिजिसियन डा. भोजराज अधिकारीका अनुसार एउटा सिङ्गो अण्डामा करिब ६ ग्राम उच्च गुणस्तरको प्रोटिनका साथै भिटामिन ए, बी, बी १२, डी, ई, फोलेट, फस्फोरस, सेलेनियम, जिङ्क, कोलिन र लिसिफिन जस्ता शरीरलाई अत्यावश्यक तत्त्वहरू पाइन्छन् ।
अण्डामा पाइने उच्चस्तरीय प्रोटिनले शरीरका तन्तु र मांसपेशी निर्माण तथा मर्मतमा सहयोग गर्नुका साथै बालबालिकाको शारीरिक र मानसिक वृद्धि-विकासमा मुख्य भूमिका खेल्छ।
डा. अधिकारीका अनुसार अण्डाको पहेँलो भागमा पाइने ल्युटिन र जेक्स्यान्थिनले आँखाको दृष्टि बलियो बनाउँछ भने कोलिनले मस्तिष्क र स्नायु प्रणालीलाई चुस्त राख्छ। विगतमा अण्डाको पहेँलो भाग खानु हुन्न भन्ने भ्रम रहे पनि अहिले आधुनिक चिकित्सा विज्ञानले यसलाई सन्तुलित र विविधतायुक्त आहारको अनिवार्य हिस्सा मानेको छ।






