कात्तिक ५, काठमाडौं ।
नेपाल बैंकर्स संघले दशैँमा पाँच दिन बैंकहरुको शाखा बन्द गर्ने जनाएको छ ।
हरेक दिन कोभिड संक्रमित कर्मचारी बढरहेको सन्दर्भमा संघले सदस्य बैंकहरुसँग दशैँ बिदाका बेला शाखा कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।
कात्तिक ७ गते फूलपातीदेखि कात्तिक ११ गते टिकाको भोलिपल्टसम्म बैंकका शाखाहरु बन्द रहने छन् । यसअघि बैंकहरुले वर्षका तीन सय ६५ दिन नै काउन्टरबाट सेवा दिँदै आएका थिए ।
निश्चित अवधिका लागि दशैँ बिदाका बेला पनि शाखा खुल्थ्यो । संघका अनुसार, वाणिज्य बैंकहरुका करिब ३७ सयभन्दा बढी कर्मचारी संक्रमित छन् ।
संघले डिजिटल बैंकिङ सेवा निरन्तर हुने जनाएको छ । साथै एटीएम पनि सञ्चालन हुनेछन् । संघले संक्रमणबाट जोगिन सर्वसाधारणलाई डिजिटल बैंकिङको प्रयोग गर्न अपिल गरेको छ ।







