बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ । बाढीपहिरोका कारण बागलुङमा ठूलो जनधनको क्षति भएको छ। विपद्का कारण जिल्लामा १३ जनाको मृत्यु भएको छ भने राष्ट्रिय तथा प्रदेशस्तरीय सडक पूर्वाधारमा मात्रै ५० करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ।

सडक डिभिजन कार्यालय बागलुङअन्तर्गतका राष्ट्रिय तथा सहायक राजमार्ग र पूर्वाधार विकास कार्यालयअन्तर्गतका प्रदेशस्तरीय सडकमा बाढीपहिरोले क्षति पुर्‍याएको हो। क्षतिग्रस्त सडकलाई दीर्घकालीन रूपमा पुनर्निर्माण गर्न एक अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ।

प्रारम्भिक विवरणअनुसार सबैभन्दा बढी क्षति मध्यपहाडी लोकमार्गको निसीखोला र गलकोट खण्डमा भएको छ। त्यस्तै, प्रदेश सरकारअन्तर्गतको गलकोट–हरिचौर–ताराखोला सडक पनि बाढीपहिरोबाट प्रभावित भएको छ।

सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीका अनुसार कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग र बागलुङ–बेनी सडक लगायतका राजमार्गमा करिब ३० करोड रुपैयाँ बराबरको क्षति भएको छ।

मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोलाको कानाबगर र झिवाखोला क्षेत्रमा करिब ४०० मिटर सडकको ट्रयाक नै बगाएर बगरमा परिणत भएको छ। घोडाबाधेदेखि हटियासम्मको सडकखण्डमा पनि दर्जनभन्दा बढी स्थानमा पहिरो गएको छ।

कालीगण्डकी करिडोरअन्तर्गत कालाखोला बगर, बेलबगर र जैमिनीघाटलगायतका क्षेत्रमा सडकमा क्षति पुगेको छ। यस्तै, बागलुङ बजारबाट सिगाना र तित्याङ जाने सडकमा पहिरो खस्दा यातायात आवागमन प्रभावित भएको छ।

यसैगरी, पूर्वाधार विकास कार्यालय बागलुङको प्रारम्भिक तथ्यांकअनुसार प्रदेश सरकार मातहत निर्माण भइरहेका क्षेत्रीय सडकमा करिब २० करोड रुपैयाँ बराबरको क्षति भएको छ।

कार्यालयका प्रमुख अनुप थापाका अनुसार सबैभन्दा बढी क्षति हरिचौर–ताराखोला सडकमा भएको छ। करिब आठ किलोमिटर लामो उक्त सडकको एक दर्जनभन्दा बढी स्थानमा पहिरो गएको छ।

त्यस्तै, शालग्राम सङ्ग्रहालय–मालिका–पञ्चकोट सडक तथा कुश्मिसेरा–राङ्खानी सडकमा पनि बाढीपहिरोले क्षति पुर्‍याएको छ।

थापाका अनुसार सडक क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ। ठेक्काको अवधि बाँकी रहेको हरिचौर–ताराखोला सडक पुनर्निर्माणका लागि सम्बन्धित निर्माण कम्पनीलाई पत्राचारसमेत गरिएको उनले बताए।