म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्का कारण बाढीपहिरोले क्षतिग्रस्त चीन–भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडकको मर्मत कार्य तीव्र पारिएको छ ।
पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि म्याग्दीको बेनी हुँदै चीनको कोरला नाकासम्म जोडिने २०२ किलोमिटर लामो सडक असोज दोस्रो साताको भारी वर्षापछि आएको बाढीपहिरोका कारण ५० भन्दा बढी स्थानमा अवरुद्ध भएको थियो । तीमध्ये १० स्थानमा कालीगण्डकी नदीले सडक कटान गरी बगाएको थियो ।
बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ कुनौटादेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरसम्मको करिब १२ किलोमिटर सडकमा मर्मतको काम तीव्र गतिमा भइरहेको छ । आगामी सोमबारसम्म उक्त खण्डमा सवारीसाधन सञ्चालन गर्न सकिने गरी काम अघि बढाइएको उनले बताए ।
उनका अनुसार वर्षा रोकिएलगत्तै असोज १२ गतेदेखि कोरला नाकातर्फबाट भुरुङ्ग–तातोपानीसम्मको सडक दुई दिनमै सञ्चालनमा ल्याइएको थियो । यस्तै, मालढुङ्गातर्फबाट बेनी–बैसरी हुँदै कुनौटासम्मको करिब २५ किलोमिटर सडकको मर्मत पनि सोमबार साँझसम्म सम्पन्न गरिएको छ ।
कुनौटामा कालीगण्डकी नदीको बाढीले करिब २५० मिटर सडक कटान गरेको छ । सडक कटान भएपछि पैदल आवतजावतसमेत कठिन बनेको उक्त क्षेत्रको मर्मतलाई चुनौतीपूर्ण मानिएको छ ।
रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा कटान भएको सडकको विकल्पमा नयाँ मार्ग निर्माण गर्नुपरेको थियो । इन्धन अभावका कारण पनि सुरुआती चरणमा समस्या देखिए पनि नेपाली सेना, स्वयंसेवक तथा ड्रोनको सहयोगमा इन्धन ढुवानी भएपछि काम सहज भएको आयोजनाले जनाएको छ ।
सडक योजनाका प्रमुख शर्माका अनुसार कुनौटाभन्दा माथि सडक मर्मतका लागि आवश्यक इन्धन स्थलमार्गबाट लैजान कठिन भएपछि नेपाली सेना र ड्रोनको सहयोग लिइएको थियो । ड्रोनबाट छ पटकमा करिब ४०० लिटर डिजेल कटान क्षेत्र पार गराएर लगिएको उनले बताए ।
अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर र रातोपानीमा नयाँ ट्रयाक खोल्ने काम भइरहेको छ । महभिर र भिरकाटे क्षेत्रमा पनि मर्मत जारी छ । अन्नपूर्ण–६ रातोपानीमा दुई स्थानमा गरी करिब २५० मिटर सडक कटान भएको क्षेत्रमा नयाँ ट्रयाक निर्माण गरिएको छ । पोखरेबगरस्थित कालीगण्डकी पुलको पहुँचमार्ग निर्माणका लागि समेत मजदुर परिचालन गरिएको छ ।
संघीय सडक सुपरीवेक्षण आयोजना पोखराका प्रमुख नरेन्द्र सुवेदीका अनुसार सडक विभाग र निर्माण व्यवसायीका १५ वटा स्काभेटर, १२ वटा टिपर र १५ वटा लोडरसहित जनशक्ति परिचालन गरिएको छ । अवरुद्ध सडकका विभिन्न स्थानमा समानान्तर रूपमा काम भइरहेको र यसै साताभित्र मर्मत सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।
रसुवा र तातोपानी नाका बन्द रहेका कारण चीनसँगको व्यापारका लागि कोरला नाका थप महत्वपूर्ण बनेको सुवेदीले बताए । त्यसैले कोरला नाका जोड्ने सडकलाई छिटो सञ्चालनमा ल्याउन सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको उनको भनाइ छ ।
यता, मुस्ताङको स्याउ बजार पठाउने समय सुरु भइसकेको छ भने दसैँ–तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने समय पनि नजिकिँदै गएको छ । पर्यटकीय यामसमेत सुरु भएकाले बेनी–जोमसोम सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउन दबाब बढेको छ ।






