बासस्थान मासिँदै जाँदा दुर्लभ बन्दै कछुवा

सुनसरी । नदी, पोखरी, तालतलैया, सिमसार तथा चुरे क्षेत्रका खोल्सामा सहजै देखिने कछुवा पछिल्लो समय प्राकृतिक बासस्थान नष्ट हुँदै जाँदा दुर्लभ बन्दै गएको छ। पानीका स्रोत तथा सिमसार अतिक्रमण, अवैध सिकार, जल प्रदूषण र अनियन्त्रित पूर्वाधार निर्माणका कारण कछुवाको सङ्ख्या घट्दै गएको संरक्षणकर्मीले बताएका छन्।

कछुवा तथा सरिसृपसम्बन्धी विषयमा विद्यावारिधि गरिरहेका अनुसन्धानकर्ता अस्मित सुब्बाका अनुसार कछुवा संरक्षणलाई एउटा प्रजाति जोगाउने अभियानका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन। कछुवा आश्रित पानीका स्रोत, नदी किनार, अण्डा पार्ने बालुवा वा माटो, घाम ताप्ने स्थान, आहारा र आसपासको हरियाली संरक्षण गर्न सके मात्रै यसको दीर्घकालीन संरक्षण सम्भव हुने उनको भनाइ छ।

“कछुवा संरक्षणका लागि त्यसको बासस्थानसँग जोडिएको पानी, जमिन र हरियाली संरक्षण गर्नुपर्छ,” सुब्बाले भने, “कछुवाका लागि पानीसँगै सुरक्षित नदीकिनार, अण्डा पार्ने स्थान, घाम ताप्ने ठाउँ, आहारा र प्राकृतिक वनस्पति आवश्यक हुन्छ।”

कतिपय प्रजातिले जीवनको अधिकांश समय पानीमा बिताए पनि प्रजननका क्रममा नदी किनारका सुरक्षित स्थानमा पुगेर अण्डा पार्ने गर्छन्। प्राकृतिक पोखरी तथा जलाशय मासिँदै जानु, सिमसार पुरिनु, नदी किनारमा अव्यवस्थित संरचना निर्माण हुनु र आसपासको वनस्पति हटाइनुले कछुवाको प्रजनन तथा जीवनचक्रमा प्रत्यक्ष असर पार्ने सुब्बाले बताए।

उनका अनुसार सिमसारले वर्षाको पानी सञ्चय गर्नुका साथै जमिनमुनिको पानी पुनर्भरण, बाढीको प्रभाव न्यूनीकरण तथा विभिन्न जीवजन्तु र वनस्पतिलाई बासस्थान उपलब्ध गराउने भएकाले कछुवा संरक्षणलाई सिमसार संरक्षणसँगै अघि बढाउन आवश्यक छ।

पूर्वी नेपालमा पाइने नरम खबटे कछुवाका केही प्रजाति गहिरो नदी, जलाशय तथा सिमसारमा निर्भर हुने भएकाले बासस्थानमा हुने परिवर्तनबाट बढी प्रभावित हुने गरेका छन्। नदी तथा सिमसारमा विष वा करेन्ट प्रयोग गरी माछा मार्ने गतिविधिले कछुवासहित अन्य जलचरलाई समेत जोखिममा पार्ने गरेको अनुसन्धानकर्ताको भनाइ छ।

माछा मार्ने क्रममा जाल वा बल्छीमा परेका कछुवा घाइते हुने, निसासिने वा मर्ने जोखिमसमेत रहने सुब्बाले बताए। उनका अनुसार ठूलो बासस्थान स–साना क्षेत्रमा विभाजन हुँदा कछुवालाई आहारा खोज्न, प्रजनन गर्न र सुरक्षित स्थानमा पुग्न कठिन हुन्छ। सडक पार गर्ने क्रममा सवारीसाधनको चपेटामा पर्ने जोखिम पनि उत्तिकै हुन्छ।

“कछुवा ढिलो बढ्ने र वयस्क अवस्थामा पुग्न लामो समय लाग्ने जीव हो,” उनले भने, “सङ्ख्या घट्दै गएपछि पुरानै अवस्थामा फर्काउन पनि लामो समय लाग्छ।”

पूर्वी तराईको चारकोसे झाडी क्षेत्रमा बस्ती, कृषि, सडक तथा अन्य पूर्वाधार विस्तारसँगै प्राकृतिक बासस्थान खण्डित हुँदै गएको छ। वनसँग जोडिएका पोखरी, खोल्सा, नदीकिनार र सिमसारमा भइरहेको परिवर्तनले त्यहाँ आश्रित जलचर तथा अन्य वन्यजन्तुलाई समेत असर पुर्‍याइरहेको संरक्षणकर्मी बताउँछन्।

सरिसृप तथा उभयचरसम्बन्धी विषयमा विद्यावारिधि गरेका प्राध्यापक डा. कालुराम खुम्बुले पनि कछुवा संरक्षणलाई एउटा प्रजातिमा मात्र सीमित नगरी समग्र बासस्थान संरक्षणका रूपमा अघि बढाउनुपर्ने बताए।

“कछुवाको अवस्था बुझ्न अनुसन्धान, तथ्याङ्क सङ्कलन तथा बासस्थानको नियमित अध्ययन आवश्यक छ,” उनले भने।

कछुवाका विभिन्न प्रजातिले वनस्पति, कीरा, माछा तथा अन्य जैविक पदार्थ खाने भएकाले खाद्य शृङ्खलामा समेत उनीहरूको महत्वपूर्ण भूमिका रहेको प्राध्यापक खुम्बुले बताए। गाउँका पोखरी, खेती नजिकका जलाशय, नदी किनार र सिमसार संरक्षण गर्न सके कछुवाको बासस्थान जोगाउन सकिने उनको भनाइ छ।

स्थानीयस्तरमा कछुवाका अण्डा तथा बच्चा सङ्कलन नगर्ने, अवैध सिकार तथा व्यापार नियन्त्रणमा सहयोग गर्ने र प्राकृतिक बासस्थान संरक्षण गर्ने विषयमा जनचेतना बढाउन आवश्यक रहेको उनले बताए। विष तथा करेन्ट प्रयोग गरेर माछा मार्ने कार्य पूर्ण रूपमा नियन्त्रण गर्नुपर्नेमा जोड दिँदै उनले प्राकृतिक पोखरी र सिमसार पुर्ने कार्य रोक्न सके कछुवा संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताए।

कछुवाको शरीर कडा खपटाले ढाकिएको हुन्छ। विभिन्न प्रजातिका कछुवा पानी तथा जमिनमा बस्ने गर्छन्। तिनको आकार, आहार, बासस्थान र जीवनशैलीसमेत प्रजातिअनुसार फरक हुने जानकारहरू बताउँछन्।