‘समुन्नति कार्यक्रम’मार्फत विपद् प्रभावित लक्षित समुदायलाई आत्मनिर्भरतासम्म जोडिने

काठमाडौं, २० असोज। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्ति र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई विपद्पछि राहतमा मात्र सीमित नराखी संरक्षण, पुनर्स्थापना, आर्थिक पुनर्लाभ र आत्मनिर्भरतासम्म जोड्ने उद्देश्यले ‘समुन्नति कार्यक्रम’ अघि बढाइएको छ।

महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयले बाढी, पहिरो तथा अन्य विपद्बाट प्रभावित लक्षित समुदायका नागरिकलाई तत्काल राहतसँगै जीविकोपार्जन पुनर्स्थापना, सीप विकास, रोजगारी, उद्यमशीलता, उत्पादन र बजारसँग आबद्ध गराउने गरी कार्यक्रम अघि बढाएको हो।

कार्यक्रमको प्रारम्भिक कार्यान्वयन रसुवा–त्रिशूली बाढी प्रभावित क्षेत्रबाट सुरु गरिने मन्त्रालयले जनाएको छ। प्रभावित व्यक्तिको आवश्यकता, जोखिम, क्षमता र सम्भावनाका आधारमा संरक्षण, जीविकोपार्जन तथा आर्थिक पुनर्लाभका कार्यक्रम सञ्चालन गरिनेछन्।

आठ प्रमुख स्तम्भ
‘समुन्नति कार्यक्रम’लाई तत्कालीन आवश्यकतादेखि दीर्घकालीन आर्थिक पुनर्लाभ र आत्मनिर्भरतासम्म जोड्ने गरी आठ प्रमुख स्तम्भमा सञ्चालन गरिनेछ।

पहिलो, जीविकोपार्जनका लागि नगद, बीउपूँजी तथा व्यवसाय पुनर्स्थापना सहायता उपलब्ध गराइनेछ। विपद्का कारण प्रभावित आयआर्जन तथा व्यवसाय पुनः सञ्चालन गर्न आवश्यक सहयोग प्रदान गरिनेछ।

दोस्रो, औजार, उपकरण, मेसिन तथा उत्पादन साधन सहायतामार्फत जीविकोपार्जन, व्यवसाय तथा उत्पादन पुनः सुरु गर्न आवश्यक सामग्री उपलब्ध गराइनेछ।

तेस्रो, सीप तथा रोजगारमूलक तालिम सञ्चालन गरिनेछ। व्यक्तिको क्षमता, रुचि तथा स्थानीय बजारको मागअनुसार सीप विकास गरी रोजगारी तथा स्वरोजगारका अवसरसँग जोडिनेछ।

चौथो, रोजगार सहजीकरण तथा रोजगारीमा आबद्धताअन्तर्गत सीप तथा तालिम प्राप्त व्यक्तिलाई उपलब्ध रोजगारीका अवसरसँग जोड्न सहजीकरण गरिनेछ।

पाँचौँ, व्यवसाय तथा उद्यमशीलता विकासमार्फत नयाँ उद्यम सुरु गर्न तथा विपद्का कारण प्रभावित व्यवसाय पुनः सञ्चालन र विस्तार गर्न आवश्यक सहयोग उपलब्ध गराइनेछ।

छैटौँ, उत्पादन तथा बजार आबद्धतामार्फत उत्पादन तथा उद्यमलाई बजार, खरिदकर्ता र मूल्य शृङ्खलासँग जोडेर दिगो आयआर्जनको आधार तयार गरिनेछ।

सातौँ, व्यक्तिगत, जीविकोपार्जन तथा व्यावसायिक परामर्श प्रदान गरिनेछ। व्यक्तिको अवस्था, क्षमता र सम्भावनाका आधारमा जीविकोपार्जन, रोजगारी तथा व्यवसायसम्बन्धी आवश्यक परामर्श र सहजीकरण गरिनेछ।

आठौँ, संरक्षण, लैङ्गिक हिंसा रोकथाम, जोखिम न्यूनीकरण तथा आवश्यक सेवामा आबद्धतालाई प्राथमिकता दिइनेछ। विपद्पछि उत्पन्न हुन सक्ने संरक्षण जोखिम तथा लैङ्गिक हिंसा न्यूनीकरण गर्दै प्रभावितलाई स्वास्थ्य, मनोसामाजिक, कानुनी, सुरक्षा लगायतका आवश्यक सेवासँग जोडिनेछ।

बालबालिका भएका परिवारलाई विशेष प्राथमिकता
कार्यक्रमअन्तर्गत बालबालिका भएका विपद् प्रभावित परिवारलाई विशेष प्राथमिकता दिइनेछ।

मन्त्रालयले बालबालिकाको दीर्घकालीन संरक्षण तथा स्याहारका लागि ‘बालबालिका दीर्घकालीन स्याहार योजना’ कार्यान्वयन गरिरहेको जनाएको छ। सोहीअनुसार ‘समुन्नति कार्यक्रम’अन्तर्गत प्रभावित परिवारमा रहेका बालबालिकाको संख्या, पारिवारिक अवस्था, आश्रित सदस्य तथा आर्थिक–सामाजिक जोखिमलाई आधार बनाएर जीविकोपार्जन तथा पुनर्स्थापना सहयोगमा आवश्यकताअनुसार थप प्राथमिकता र सहायता उपलब्ध गराउन सकिनेछ।

राहतपछि पुनः उभिने आधार
मन्त्रालयका अनुसार ‘समुन्नति कार्यक्रम’ राहत वितरणमा मात्र केन्द्रित हुने छैन। विपद्बाट प्रभावित नागरिकको तत्काल आवश्यकता सम्बोधनसँगै उनीहरूको आयआर्जन र जीविकोपार्जन पुनर्स्थापना गरी दीर्घकालीन रूपमा आर्थिक रूपमा पुनः उभिने आधार तयार गरिनेछ।

कार्यक्रमअन्तर्गत आवश्यकताअनुसार नगद, बीउपूँजी, सीप, औजार तथा उपकरण, रोजगारी, उद्यमशीलता, व्यवसाय पुनर्स्थापना र बजार आबद्धतामार्फत प्रभावित नागरिकलाई पुनः आयआर्जन तथा आत्मनिर्भरताको बाटोमा जोडिनेछ।

कार्यक्रमको नीतिगत नेतृत्व मन्त्रालयले गर्नेछ भने संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी प्रभावित समुदायको आवश्यकता तथा स्थानीय सम्भावनाका आधारमा कार्यान्वयन गरिने मन्त्रालयले जनाएको छ।

विपद् प्रभावित नागरिकलाई राहत दिएर मात्र छाड्ने नभई उनीहरूलाई पुनः उभिने अवसर, आयआर्जनको आधार र आत्मनिर्भरताको बाटोमा अघि बढाउनु ‘समुन्नति कार्यक्रम’को मुख्य उद्देश्य रहेको मन्त्रालयको भनाइ छ।