काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि विभिन्न विकास साझेदार सङ्घसंस्था र स्थानीय तहसँगको सहकार्यमा तत्काल अस्थायी आवास निर्माण अघि बढाउने निर्णय गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बसेको बैठकले प्रभावित परिवारका लागि आवश्यक आवास निर्माणको प्रक्रिया अघि बढाउने निर्णय गरेको प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जानकारी दिए ।
उनका अनुसार पुनःनिर्माणमा सहयोग गर्न इच्छुक विकास साझेदार तथा सङ्घसंस्थालाई कुन स्थानीय तहमा कति सङ्ख्यामा घर निर्माण गर्ने हो भन्ने विवरण प्राधिकरणलाई उपलब्ध गराउन आग्रह गरिनेछ ।
बैठकले सहयोगी संस्थाले नेपाल सरकारले उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्डअनुसार आवास निर्माण गर्नुपर्ने निर्णयसमेत गरेको छ ।
त्यस्तै, बाढी प्रभावित क्षेत्रका वास्तविक लाभग्राही परिवारको विवरण सङ्कलन गरी कति परिवारका लागि आवास निर्माण आवश्यक छ भन्ने यकिन गर्न सम्बन्धित स्थानीय तहलाई पत्राचार गर्ने निर्णय गरिएको छ ।






