काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दसैँलगायत चाडपर्वको समयमा सरकारले निर्धारण गरेकोभन्दा बढी सवारी भाडा नलिन यातायात व्यवसायी तथा कर्मचारीलाई निर्देशन दिएको छ ।
महासङ्घका महासचिव डेकनाथ गौतमले तोकिएकोभन्दा बढी भाडा असुल गर्ने सवारीसाधनमाथि कारबाही हुने बताए । सरकारले दसैँलाई लक्षित गर्दै यही असोज २३ गतेदेखि देशभर यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ ।
यात्रु तथा मालवाहक सवारीसाधनको सञ्चालनलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, मजदुर सङ्घ–सङ्गठन, प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयबीचको समन्वयमा अग्रिम टिकट बुकिङ खुला गर्न लागिएको हो ।
महासङ्घले सातै प्रदेश, जिल्ला समिति, सदस्य सङ्घ–संस्था तथा काठमाडौँको गोङ्गबु बसपार्कमा कार्यरत शाखा प्रमुख र कर्मचारीलाई आवश्यक निर्देशन दिएको जनाएको छ । अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोसाक र परिचयपत्र अनिवार्य प्रयोग गर्नुपर्नेछ ।
यात्रुसँग शिष्ट र नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराउने तथा सुरक्षित यात्राको व्यवस्था मिलाउन पनि महासङ्घले निर्देशन दिएको छ ।
दसैँको चाप व्यवस्थापन गर्न असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौँ सडकखण्डमा ट्रेलरलगायत ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ । खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनको आवतजावतमा भने रोक नलगाइनेछ ।
त्यस्तै, घटस्थापनादेखि कात्तिक १० गतेसम्म यात्रुवाहक सवारीसाधनका लागि देशभर लामो तथा मध्यम दूरीका रुट परमिट खुला गरिएको छ । सडकको विशेष प्रकृतिका कारण निश्चित आकार तथा प्रकारका सार्वजनिक सवारीसाधनमा लगाइएको प्रतिबन्ध भने यथावत् रहने महासङ्घले जनाएको छ ।
काठमाडौँ उपत्यकाका प्रमुख नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षको अनुगमन तथा सहजीकरणका लागि यातायात व्यवस्था विभागले फोकल पर्सनसहितको टोली परिचालन गर्नेछ । महासङ्घले गोङ्गबु बसपार्क, कलङ्की, कोटेश्वर, गौशाला र चाबहिल क्षेत्रमा आफ्ना प्रतिनिधिलाई जिम्मेवारी तोकेको छ ।
दसैँका लागि यात्रुवाहक सवारीसाधनको ‘फिटनेस’ परीक्षणलाई समेत प्राथमिकता दिइएको छ । यातायात व्यवस्था विभागको सवारी परीक्षण कार्यालय टेकुबाट प्राविधिक कर्मचारी खटाएर गोङ्गबु बसपार्कमै सवारीसाधनको निःशुल्क फिटनेस परीक्षण गर्ने व्यवस्था मिलाइने महासङ्घले जनाएको छ ।






