नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दाबी गरेका छन्। उनले दोस्रो कार्यकाल सुरु गरेयता आफूले आठवटा द्वन्द्व समाधान गरेको जिकिर गर्दै शान्तिका लागि आफूले अरू नेताभन्दा बढी काम गरेको बताएका हुन्।

बुधबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले नोबेल शान्ति पुरस्कारको घोषणा शुक्रबार हुने उल्लेख गर्दै आफूले पुरस्कार पाउने वा नपाउने विषय “समयको कुरा” भएको बताए।

“मैले अरू कसैले नगरेको काम गरेको छु। म घमण्ड गरिरहेको छैन, तथ्य मात्र बताइरहेको छु। मैले आठवटा युद्ध समाधान गरेको छु,” ट्रम्पले भने।

नोबेल समितिले आफूजस्ता व्यक्तिलाई पुरस्कार नदिने प्रतिष्ठा बनाएको टिप्पणी गर्दै ट्रम्पले पुरस्कार नपाए पनि आफूले गरेका शान्ति प्रयासको महत्त्वमा कुनै कमी नआउने बताए। उनले सन् २००९ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामालाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको विषयमा समेत प्रश्न उठाए।

ट्रम्पले गत वर्ष नोबेल शान्ति पुरस्कार प्राप्त गरेकी भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोसँगको भेटको प्रसङ्ग पनि उल्लेख गरे। उनका अनुसार मचाडोसले आफूले प्राप्त गरेको पदक उनलाई दिएकी थिइन्।

ट्रम्प प्रशासनले आर्थिक दबाब, व्यापारिक रणनीति र महसुल नीतिमार्फत विभिन्न देशलाई कूटनीतिक वार्तामा ल्याउन आफू सफल भएको दाबी गर्दै आएको छ।

यद्यपि, डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो तथा कम्बोडिया–थाइल्यान्ड सीमा क्षेत्रमा पुनः द्वन्द्व देखिनु, युक्रेनमा स्थायी शान्ति कायम हुन नसक्नु तथा मध्यपूर्वमा इरानसँग सम्बन्धित तनाव जारी रहनुले ट्रम्पको शान्ति प्रयासमाथि प्रश्न उठाइएको छ।

नोबेल शान्ति पुरस्कार नर्वेको ओस्लोस्थित नर्वेजियन नोबेल समितिले प्रदान गर्छ। सन् २०२६ को पुरस्कारका सम्भावित दावेदारका रूपमा पोप लियो, अन्तर्राष्ट्रिय फौजदारी अदालत तथा प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदकलगायतका नाम चर्चामा छन्।